जेपी गुप्ता ।
आज भारत बदलिएको छ। समृद्धि र बिकासको खतरनाक मादकताले उसको आधारभूत चरित्र बिस्तारै फेरिईदै छ। भारत मात्र होईन-रूस, टर्की, चीन जस्ता मुलुकहरू समेत आ-आफ्नो प्रकारको शासनमा उही मादकता फैलाउँदैछ। तर, एक समय भारत त्यस्तो पनि थियो-जसले संसारभर चलेका क्रांतिहरूमा पक्षधरता राख्द्थ्यो। तलको तस्वीरमा जवाहरलाल नेहरू भियतनामका हो ची मिन्ह, क्युवाका चे गुवेरा, अमेरिकाका मार्टिन लुथर किंग जुनियर, नेपालका बीपी कोईरालाका साथ साथै नेहरूका बारेमा नेल्सन मण्डेलाका बिचारले त्यस भारतका बारेमा धेरै कुरा बताउँदछ।
नेपालमा आज धेरैलाई यो कुरा मन नपर्ला। तर, ऐतिहासिक सत्य यही हो कि यदि नेहरूले नेपालमा राणा शासनको बिरूद्धको क्रांतिलाई उत्प्रेरित नगरेको भए शायद ०७ साल पछिका धेरै बर्षसम्मन नेपालले शाह राजतन्त्र मात्र हैन, त्यसअघिका शताब्दीऔंका सामन्ति शासनको भारलाई बोक्नु परेको हुन्थ्यो।
बेलायत र अमेरिकाको स्वार्थलाई टेवा दिएको राजा-राणा शासनलाई ढाल्न तिनताकमा चीनको कुनै कतै सोच रहेको कुनै ऐतिहासिक तथ्य एवं शोधले देखाउदैन। हो, समयको अन्तरालमा शीतयुद्धको परिपक्व कालमा रूस तथा चीनले नेपालमा यहाँका कम्युनिष्टहरूको सहयोग तथा राजालाई दबावमा राखेर साम्यवादी शासनको अभ्यास गराउन सक्थ्यो होला। यसका संभाव्य परिणामहरूका बारेमा आज चर्चा गर्नु जरूरी छैन। सन् ६० पछिको बर्मा, इण्डोनेशिया, पाकिस्तानहरूले सबैलाई राम्रै ज्ञान दिएको हुनुपर्छ।
‘इतिहास’लाई इतिहासको रूपमा नहेरी ‘मिथक’ को रूपमा हेरियो भने आज भारतले बनाउन लागेको ‘इपीक’ मा रूपान्तरण हुनेछ हाम्रो समेत इतिहास ! रछ्यानमा मिल्काईका ती पूर्वराजा ‘इपीक’ का नायक भै आउने छन्। दुस्वप्न हुनेछन्-समृद्धि र बिकासका कुरा। शायद आजका भारतले पनि नेपालको रूपमा आदिम सहगोत्रीलाई हौस्याउने छन् बिभिन्न धर्मान्ध शासनको नाममा !