No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘कांग्रेसको आदर्शलाई सत्ताको भोकमा मटियामेट गराउने धुन्धुकारी चरित्र हो’

0

जगदीश्वरनरसिंह केसी ।

प्रचण्डको डोला बोक्ने नेतृत्वको बुद्धि !
नेपाली कांग्रेसले संसदमा जिम्मेवार प्रतिपक्षको प्रभावकारी र लोकप्रिय भूमिका निर्वाह गर्नुपर्छ भन्ने सारा कांग्रेसजनसहित कार्यकर्ताको आवाजमाथि कुठाराघात गर्दै, आखिर कांग्रेस नेतृत्वले वाम नेतृत्ववाला गठबन्धनलाई विश्वासको मत दिने निर्णय गरेर प्रचण्डको डोला बोक्ने चरित्र देखाएका छन् । यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई प्रधानमन्त्री बनाएर उनको डोला बोक्ने डोले–तत्परतालाई एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले तुहाईदिएपछि नेतृत्वको यो पछिल्लो कांग्रेसघाती निर्णय देखियो ।

नेपाली कांग्रेस लोकतन्त्र र संसदीय व्यवस्थाको लागि आजीवन समर्पित रहँदै आएको पार्टी हो । संसदमा मोलाहिजाबाट मुक्त, सशक्त र निर्भिक जिम्मेवार प्रतिपक्षको उपस्थिति संसदीय लोकतन्त्रको अनिवार्य आधार हो । तर कांग्रेस नेतृत्वको ओहोदामा बिराजमान व्यक्तिले नै मूख्य प्रतिपक्षको अस्तित्वलाई मटियामेट गरेर सत्तासमक्ष लम्पसार पर्नु भनेको कांग्रेसले बरण गरेका मूल्य, मान्यता, सिद्धान्त, नीति र आदर्शलाई सत्ताको भोकमा मटियामेट गराउने धुन्धुकारी चरित्र हो । संसदबाट खुँखार तानाशाहको जन्म गराउने सुँडेनी खेल हो ।

आज प्रचण्ड नेतृत्वको गैर-कांग्रेस गठबन्धन सरकारलाई नाकमा नत्थी लगाए जस्तो गरी समर्थन गर्नु नै थियो भने निर्वाचनपछि दुई वर्षको लागि उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न नेतृत्वले टाङ् अडाउनु पर्ने के बाध्यता थियो ? आज प्रचण्डलाई विश्वासको मत दिनुलाई बुद्धिमत्ता मान्ने हो भने हिजो त्यो ‘बुद्धि’ कता हराएको थियो ? गठबन्धनका उम्मेद्वारलाई मत नदिने कांग्रेस नेता तथा कार्यकर्तालाई कारवाहीको डण्डा चलाउने ने नेतृत्वको खेलवाडले निष्ठाको जनमुखी–राजनीति गरिरहेका कार्यकर्ताको प्रतिष्ठा र हुर्मत हरेर कारवाही चलाउने हर्कतको क्षतिपूर्ति कसरी हुन्छ ?

ईतिहास लेख्ने हातलाई कसैले रोक्न सक्दैन । वर्तमान र भावी पुस्तामाथि कुठाराघात गर्ने यस्ता कांग्रेसघाती खेललाई इतिहासले कदापि सम्मानजनक अध्याय दिने छैन । कांग्रेस नेतृत्वलाई सद्बुद्धि पलाओस् ।

प्रकाशित: २६ पुष २०७९, मंगलवार १६:५८

Leave a Reply