No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

0

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधवार अपराह्न मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेस लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। सुदूरपश्चिममा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिपछि उनी मुख्यमन्त्रीमा चयन भएका हुन्।

सुदूरपश्चिममा पहिलो चरणमा एमालेको मुख्यमन्त्रीमा रावल चयन भएका छन्। एमाले संसदीय दलका नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउनेछ।

नेकपा माओवादी सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट साढे २ वर्षपछि सुदूरपश्चिमको मुख्यमन्त्री हुनेछन्। एमाले संसदीय दलका नेता रावलका अनुसार सुदूरपश्चिम एमालेको भागमा परेपछि उनी मुख्यमन्त्री बनेका छन्।

सुदूरपश्चिम र वागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो प्रदेश सरकारकोे नेतृत्व गर्नेछन्।

 

प्रकाशित: २७ पुष २०७९, बुधबार १२:२२

Leave a Reply