No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टार्न सकिने विमान दुर्घटना

0

 – प्रकाश रायमाझी, राजनीतिक विश्लेषक 

यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गरी सत्यतथ्य जनसमक्ष नल्याई सरकारले बिदा दिँदैमा र शोक प्रकट गर्दैमा बिमान दुर्घटनामा मृत्यु हुनेहरूको आत्मालाई चिरशान्ति मिल्दैन । नत्र हरेक विमान दुर्घटनापछि रचिने छानबिनको नाटकको अर्को शृंखला मात्र हुन पुग्नेछ, यो पनि ? यती एयरलाइन्सको विमानमा प्राविधिक त्रुटि छ भनेर तीन वर्षअगाडि नै मलाई सूचना प्राप्त भएको थियो । त्यसको जानकारी प्रतिवेदनसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको थिएँ । प्रतिवेदनको एक प्रति लालबाबु पण्डितलाई पनि दिएको थिएँ ।

यो विमानमा प्राविधिक रुपमा थुप्रै त्रुटि छन् र जुनसुकै बेला दुर्घटना हुन सक्ने रिपोर्ट प्राविधिकहरुले दिएका थिए । त्यही रिपोर्टका आधारमा सरकारले छानबिन गरी यती एयरलाइन्सको उडानमा निगरानी राखोस् भनेर मैले तत्कालीन सरकारलाई सुझाव दिएको थिएँ । तर, केही व्यक्तिको स्वार्थ जोडिएकाले छानबिन र कारबाहीको प्रक्रिया अघि बढेन । पर्यटन मन्त्रालयका सहसचिव सदस्यसचिव रहने गरी दुर्घटना छानबिन समिति खडा गरिन्छ । तर, न त समितिले पारदर्शी ढंगले कार्य गर्छ, न विमान दुर्घटना छानबिनमा अन्तर्राष्ट्रिय रुपमा अपनाइने प्रोटोकलकै पालना हुन्छ ।

सत्यतथ्यसहित छानबिन रिपोर्ट सार्वजनिक गर्ने र भविष्यमा दुर्घटना दोहोरिन नदिन कमीकमजोरीलाई सुधार्ने त धेरै परको कुरा भयो । यस्ता दुर्घटनालाई व्यवसायीहरुले कमाउने धन्दा बनाएका छन् । एयरलाइन्सहरुले थोत्रो विमान खरिद गरेको भन्दा बढी रकम बिमा कम्पनीबाट लिन्छन् । बिमाबापत मृतकका परिवारले पाउने क्षतिपूर्ति रकममा समेत ठूलो चलखेल हुन्छ । बिमा कम्पनीबाट धेरै रकम लिएर पीडित परिवारलाई त्यसको केही अंश मात्र दिइने गरेको गुनासो पीडित परिवारहरुबाट सुनिआएकै हो ।

हरेक दुर्घटनापछि नेपाली आकाश विमान उडानका लागि खतरापूर्ण छ भनेर भ्रामक प्रचार गरिन्छ । जबकि, नेपालभन्दा जटिल भूगोल भएका संसारका धेरै स्थानमा उडान हुने गरेको छ । तर, दुर्घटना अति नै न्यून हुन्छ । त्यसमाथि विमान सबैभन्दा सुरक्षित यातायातको साधन हो । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनका अनुसार ७ लाख ४० हजार उडानमध्ये एउटा उडान मात्र घातक दुर्घटनामा पर्ने सम्भावना हुन्छ । तर, नेपाल सरल भूगोल र राम्रो मौसमका बेला समेत दुर्घटना भइरहेका छन् ।

विदेशमा वर्षौं प्रयोगमा आइसकेका, थोत्रा र नबिकेका विमान ज्यादै सस्तोमा नेपाल भित्रिन्छन् । नेपालका आकाशमा उड्ने कतिपय विमान त विकसित मुलुकहरुमा व्यावसायिक उडानका लागि निषेधित नै छन् । निजी क्षेत्रका विमान व्यवसायीले सरकारी एयरलाइन्सलाई प्रभावकारी हुन नदिन अनेक अवरोध गर्ने र चर्को भाडा असुल गरी रातारात मालामाल हुने गरेको सर्वविदित तथ्य हो । सरकारले प्राविधिक रूपमा राम्रोसँग जाँचबुझ नगरी सुरक्षाका तमाम तथ्य र अन्तर्राष्ट्रिय स्ट्यान्डर्डलाई नजर अन्दाज गर्दै उडान अनुमति दिने डरलाग्दो प्रवृत्ति छ ।

केही व्यक्ति र समूहको स्वार्थ र कमिसनका लागि सुरक्षालाई नजरअन्दाज गर्ने प्रवृत्ति अन्त्य नभएसम्म यस्ता दुःखद् घटना दोहोरिरहन्छन् । यहाँका विज्ञहरुलाई समेत यी कुराको जानकारी छ । तर, उनीहरु पनि कमिसनको लोभमा मौन रहन्छन् । नेपालको लागि यो निकै दुर्भाग्यपूर्ण विषय हो । नेपालको अन्तर्राष्ट्रिय छवि नै धूमिल हुने गरी पटकपटक हुने गरेको दुर्घटनाका सम्बन्धमा अन्तर्राष्ट्रिय विज्ञहरुको समेत सहयोग र परामर्श लिई समस्याको समाधान खोज्न आवश्यक छ । नेपाली आकाशमा उडिरहेका पुराना, असुरक्षित र मापदण्ड नपुगेका विमानलाई तत्काल छानबिनको दायरामा ल्याई उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन पनि अत्यन्त आवश्यक देखिएको छ ।

प्रकाशित: २ माघ २०७९, सोमबार ०३:२३

Leave a Reply