No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रविजी, दुःख तपाईंले पक्रन नसकेकोमा होइन, तपाईंको लम्पसारवाला जवाफले लागेको हो

0

नारायण गाउँले ।
रवि लामिछानेजी,
रगताम्य भएर उपचारका लागि लगिँदै गर्दा एम्बुलेन्सबाटै थुतेर प्रहरी जवान थमन बिकको हत्या भएको थियो । उक्त हत्याका आरोपमा अदालतले पक्राउ गर्न आदेश दिएको र प्रहरीले खोजी रहेको व्यक्ति हुन् लक्ष्मी महतो कोइरी ! यो सामान्य टोलझगड़ा, लेनदेन या लुटपाटको मुद्दा होइन ।

त्यस्तो जघन्य अपराधमा मुछिएको व्यक्तिलाई संरक्षण गर्नु, अझ टिकट नै दिनु र संसदसम्म ल्याउनु आफैमा अपराध हो । सभ्य र कानुनी देशमा अपराध र अपराधीको संरक्षण दुबै उत्तिकै अक्षम्य हुन्छन् । यो तपाईंको विवेकले बुझ्छ नै । अझ तपाईंको लड़ाइँ नै यस्तै अपराधविरुद्धको हो भन्ने हामीलाई लाग्छ ।

हामीलाई थाहा छ, संरक्षण र टिकट तपाईंले दिएको होइन । संरक्षण दिने हात तपाईंको कानुनी पाखुराभन्दा बलियो हुनसक्छ । त्यसैले उतैबाट ग्रिन सिग्नल नआएसम्म तपाईं चाहेर पनि केही गर्न सक्नुहुन्न । तर, तपाईंले कम्तिमा इमान्दार जवाफ त दिन सक्नुहुन्छ । स्केचको भरमा विश्वस्तरका अपराधी समाउन सक्ने क्षमता र संयन्त्र भएको हाम्रो पुलिसले संसद भवन ओहोर–दोहोर गरिरहने एउटा सेलिब्रिटी आरोपी समाउन नसक्ने भन्ने पनि हुन्छ र ?

दुःख तपाईंले पक्रन नसकेकोमा होइन, तपाईंको लम्पसारवाला जवाफले लागेको हो । कहिले गृहमन्त्रीले हत्कडी बोकेर हिँड्दैन भन्नुहुन्छ, कहिले विधि र पद्धति मिच्न सकिन्न भन्नुहुन्छ । भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र पद्धति मिचिन्छ ? कुन शक्तिकेन्द्र र कुन दबाबका कारण कोइरी स्वतन्त्र घुमिरहेका छन् ? संसदको कुन चुनाव, कुन विधेयकमा मतदान गरिसकेपछि बल्ल उनलाई पक्राउ गर्न ओलीबाट ग्रीन सिग्नल आउने हो ? सबै अपराधलाई तपाईंले आफ्नै काँधमा बोकेर संरक्षण गर्न जरूरी छैन । अनि तपाईंलाई संसदमा प्रश्न सोध्ने कांग्रेसलाई पनि हिम्मतसाथ सोध्नुहोस्, भ्रष्टाचार मुद्दा विचाराधीन रहेका र संसदमा शपथ लिनसमेत अयोग्य व्यक्तिलाई उसले किन टिकट दिएको हो ?

एक महिनामा तपाईंले सबै अपराध सफा गर्ने भन्ने स्वैरकल्पना कसैले गरेको छैन । गृहमन्त्रीले टुँडिखेलमा नेताको लाइन लगाएर लात्तैलात्ताले नाकको डाँडी भाँच्ने आश पनि कसैको होइन । तर, तपाईंको हात बाँध्ने तत्त्वहरूलाई नाङ्गेझार पार्न त सक्नुहुन्छ नि ! रेडिमेड जवाफ दिनुभन्दा यस्तो र यसको कारणले गर्दा पक्राउ गर्न नसकिएको हो भन्न त तपाईंलाई केहीले नरोक्नुपर्ने हो !

तपाईंलाई भोट दिने र शुभकामना राख्नेहरूले केही नयाँ हुन्छ भनेर त्यसो गरेका हुन् । हिजो तपाईंको नजरमा सिस्टमदेखि नेतासम्म सबै अक्षम, खराब र भ्रष्ट थिए । त्यसैमा मतदातालाई कन्भिन्स गरेर, सिस्टम बदल्छु भनेर तपाईंले जित्नुभएको हो । आज एक्कासि तपाईं सिस्टमभन्दा एक इन्च दायाँबायाँ जान्न भन्नुहुन्छ । हामीले के बुझ्ने ?

शायद सत्ताको बलियो खरबरदारीका लागि तपाईंलाई जनताले मत दिएका थिए । जित्नेबित्तिकै न्यूनतम साझा कार्यक्रम पनि नबन्दै, आफू बिना सरकार बन्ने या नबन्ने अवस्था समेत थाहा नहुँदै सरकारमा जान हतार गर्नुभयो । अझ गृहमन्त्रालयमा तपाईंमाथि छानबिन हुँदै गर्दा प्रत्यक्ष स्वार्थ बाझिने गरी जबरजस्ती गृहमन्त्रालय रोज्नुभो । अलिकति विरोधका स्वर सुनिए । किनकि तपाईं यस्ता विषयमा खरो बोल्नुहुन्थ्यो । मतदाताले त बचाउ गरे नै, हामी जस्ता शुभचिन्तकले समेत लेखेरै बचाउ गर्यौँ । किनकि हामीलाई सिस्टमभन्दा सपनामाथि भरोसा थियो । तपाईं सपना हुनुहुन्थ्यो ।

यत्ति सानो देशमा यति धेरै सांसद र मन्त्री किन चाहियो भन्नुहुन्थ्यो, विश्वमा बिरलै देखिने चार जना उपप्रधानमन्त्री तपाईंलाई नै चाहियो । हाम्रो सपना यस्तो थिएन । तलबभत्ता मात्रै खर्च हुने राज्यमन्त्री नबनाऊँ भनेको भए पनि हुन्थ्यो । यत्रो सामाजिक विरोध भएपछि स्वार्थ बाझिने गरी श्रममन्त्री सोही व्यक्तिलाई बनाउनु पर्छ भन्ने पनि थिएन । आखिर चार जना मन्त्री नै खसआर्यबाट किन भन्ने प्रश्न पनि उठ्ने थिएन । तपाईं चुनाब अघि जस्तै खरो भएको भए राप्रपाले भ्रष्टाचार आरोप लागेका ठेकेदारलाई ठेक्का दिने मन्त्री बनाउनुअघि तीन पल्ट सोच्दो हो ।

रविजी, तपाईं अहिले नै ‘डिफेन्सिभ’ मुद्रामा देखिनुहुन्छ । यो तपाईंको कित्ता होइन । सत्ता र सिस्टमको डिफेन्स गर्न होइन,परिवर्तन गर्न तपाईं त्यहाँ हुनुहुन्छ । नमिठो लाग्ला, तर तपाईंलाई ’डिफ्युज’ गर्न चाहनेहरू मात्रै यतिबेला तपाईंका बोली र क्रियाकलापबाट खुशी छन् ।

प्रकाशित: ६ माघ २०७९, शुक्रबार १६:०१

Leave a Reply