No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुससँग लड्न युक्रेनले माग्यो शक्तिशाली ट्याङ्क

0

रुसले कब्जामा लिएको आफ्नो भूभाग फिर्ता लिन सहयोग पुग्ने भन्दै युक्रेनले सहयोगी राष्ट्रहरूसँग सयौँ ट्याङ्क मागेको छ । बेलायत, जर्मनी र अमेरिकाले युक्रेनलाई केही ट्याङ्क दिने घोषणा गरेका छन् ।

अरू देशले सहयोगको प्रस्ताव गर्न नै बाँकी छ । लडाइँ सुरु हुँदा युक्रेनसँग टी–७२ जस्ता झन्डै ९०० वटा ट्याङ्क थिए । ती ३० वर्षभन्दा अघि बनेका थिए । अहिले ती ट्याङ्क पुराना भइसकेका छन्। त्यसको प्रभाव युद्धमा पनि देखा परिरहेको छ ।

लन्डनको किङ्स कलेजकी प्रतिरक्षा अनुसन्धानकर्ता डा. मारिन मिरनका अनुसार कैयौँ युक्रेनी ट्याङ्कहरू सम्भवतः काम नलाग्ने भइसकेका छन् । ती ट्याङ्क राम्रोसँग मर्मत गरेर राखिएको थिएन । रुसले तीन हजार वटाभन्दा बढी ट्याङ्क प्रयोग गरेर युक्रेनमा आक्रमण गर्यो ।

उससँग अझ धेरै ट्याङ्क आवश्यक पर्दा प्रयोग गर्न मिल्ने अवस्थामा छन् । युक्रेनले पश्चिमा देशहरूलाई आफूलाई कम्तीमा तीनसय वटा आधुनिक ट्याङ्क उपलब्ध गराउन आग्रह गरेको छ ।

ती हतियारले रुसले वसन्तयाममा कब्जा गरेका भूभागहरूमाथि पुनः नियन्त्रण जमाउने प्रयासमा प्रयोग हुनसक्ने ठानिएको छ । युद्ध सुरु हुँदा पश्चिमा देशहरूले युक्रेनलाई प्रतिरक्षा अस्त्रहरू जस्तै ट्याङ्कभेदी क्षेप्यास्त्रहरू मात्रै उपलब्ध गराएका थिए ।

आक्रमणका लागि प्रयोग हुने ट्याङ्क जस्ता हतियार पठाउन रुस उत्तेजित हुने र त्यसले लडाइँलाई चर्काउने उनीहरूको चिन्ता थियो । अघिल्लो वर्ष युक्रेनलाई २०० वटा टी–७२ ट्याङ्क पोल्यान्ड, स्लोभाकिया र चेक गणतन्त्रले दिएका थिए ।

बेलायतले अत्याधुनिक ट्याङ्क उपलब्ध गराउने घोषणा गर्ने पहिलो देशमध्येमा पर्छ । उसले १४ वटा च्यालेन्जर–टू ट्याङ्क दिने घोषणा गरेको। ती ट्याङ्क अचुक निसाना भएका बन्दुकका कारण परिचित छन् ।

प्रकाशित: १२ माघ २०७९, बिहीबार ०८:०८

Leave a Reply