No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गौतमबुद्ध र पोखराका लागि नयाँ हवाईरुट दिन भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

0

काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा पौड्यालले जानकारी दिइन् ।

उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाईरुटका सम्बन्धमा समेत छलफल भएको बताइन्  ।

मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेकी थिइन् ।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका हुन् ।

नेपाल आएलगत्तै उनी सचिवस्तरीय बैठकमा सहभागी भएका थिए । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार ११:५४

Leave a Reply