No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डायलासिस सेवाका लागि बिरामीलाई सास्ती

0

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ का शम्भुरत्न घिमिरेको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी डायलासिस गराउँदै आएका छन् । उनी मानसिक तनावमा छन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, लमहीस्थित डायलाइसिस सेवा बन्दको सूचना प्रकाशित भएपछि घिमिरे थप चिन्तित बनेका छन् । उनले यहाँ दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए ।

“डायलासिस सेवा बन्द हुने खबरले चिन्तित बनाएको छ, अब कहाँ गएर उपचार गर्ने ?”, घिमिरेले भने, “सरकारले हाम्रो उपचारको पहल गरिदिनु पर्छ ।”

यस्तै महेन्द्रनगरबाट मिर्गौलाको डायलासिस गराउन दाङको लमही आएकी ४२ वर्षीया वसन्ता केसी उक्त सेवा बन्द हुने सुनेपछि चिन्तित छिन् । उनले भनिन् “अन्यत्र भन्दा यहाँ डायलाइसिस गर्न सहज थियो, अब उपचार गर्न समस्या हुने भयो ।”

तीन वर्षदेखि यहाँ आएर डायलासिस गराउँदै आएका प्युठानको सरुमारानी गाउँपालिका–४ सिरुबारीका ३५ वर्षीय केशव थापा पनि सेवा बन्द हुने खबरले चिन्तित छन् ।

उपचारबापतको रकम राज्यले हालसम्म उपलब्ध नगराउँदा सेवा बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालका प्रमुख एजाज आलमले बताउनुभयो । यहाँ ५६ मिर्गौलाका बिरामीले डायलासिस गराउँदै आएका छन् ।

“अस्पतालले पाउनुपर्ने छ करोड पाउन सकेको छैन”, उनले भने । लमही सामुदायिक डायलासिस कन्द्रलाई सरकारले विपन्न नागरिकको उपचार गरेबापत उपलब्ध गराउँदै आएको रकम सात महिनादेखि भुक्तानी गरेको छैन ।

डायलासिसका लागि अत्यावश्यक सामान खरिद गर्न र अस्पतालमा कार्यरत कर्मचारीको तलब भुक्तानी गर्नसमेत समस्या भएको छ । यही फागुन १५ गतेभित्र राज्यले प्रदान गर्ने रकम भुक्तानी नगरे निःशुल्क सेवा बन्द हुने अस्पतालले जनाएको छ । शुल्क लिएर भने सेवा यथावत रहनेछ ।

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार १८:०५

Leave a Reply