No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निजामती अस्पतालको सेवा सातै प्रदेशबाट

0

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पतालको सेवा सातवटै प्रदेशबाट दिइने बताएका छन् ।

अस्पतालको सोमबार अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी)को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्नेमा जोड दिए ।

“सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गर्ने योजना छ”, उनले भने । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए ।

लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृत्ति विकासतर्फ आफूले ध्यान दिने उनको भनाइ थियो । अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले हालसम्म गरेका कामका बारेमा जानकारी गराएका थिए ।

उनले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए । अस्पताललाई अतिविशिष्टिकृत बनाउँदै चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरी विशिष्ट शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी रहेको पौडेलले जानकारी दिए ।

अस्पतालका उपसचिव कृष्ण सापकोटाले चालू आर्थिक वर्षमा चार सय शैय्या पुर्याउने बताए । उनले प्रदेश तहमा अस्पतालको सेवा विस्तार गरी निजामती कर्मचारीलाई सहज रुपमा सेवा उपलब्ध गराउने बताए ।

चालू आर्थिक वर्ष भित्रमा एमआरआई, कार्डियो, युरोलोजी, न्यूरो, रेडियोथेरापी सेवा सुरु गर्ने उनले जानकारी दिए । चीन सरकारको सहयोगमा निर्माण गरिएको अस्पतालले २०६५ चैत १६ गतेदेखि बहिरङ्ग सेवा सुरु गरेको हो । अस्पतालमा हाल ७५ प्रतिशत सर्वसाधारण र २५ प्रतिशत कर्मचारी उपचारका लागि आउने गरेका बताइएको छ ।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार १५:१७

Leave a Reply