No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपराष्ट्रपति पदका लागि आज निर्वाचन

0

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । सङ्घीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

सङ्घीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नुहुनेछ भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार छन् । उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ६ बजेसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो निर्वाचन हुन लागेको हो ।

मुलुक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिको निर्वाचन भएको थियो । पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए भने दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार ०२:१६

Leave a Reply