No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले नेपालमा सुरक्षा चुनौतीः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकारेका छन् । मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताएका हुन् ।

उनले भने,‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिष्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ ।’

प्रधानमन्त्रीले सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न तयार हुनुपर्ने बताए ।

उनले भने, ‘यसको प्रतिवाद एवं समाधानका लागि राष्ट्रिय शक्तिका मुख्य तत्वहरुः राजनीतिक, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु । तसर्थ, परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ । हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहु–आयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ। त्यसैले तपाईहरुलाई परम्परागत एवं विकसित सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरी आवश्यक पहलकदमीका लागि पनि म विशेष अनुरोध गर्दछु ।’

 

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार ०८:४४

Leave a Reply