No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘र्‍याकुन डग’ कोभिड सङ्क्रमण सार्ने जनावर !

0

भिक्टोरिया गिल र रोनाल्ड पिज
बीबीसी विश्व सेवा

चिनियाँ अनुसन्धानकर्ताहरूको एउटा टोलीले सबैभन्दा पहिले कोभिड फैलिएको ठानिएको बजारबाट तीन वर्षअघि सङ्कलन गरिएका नमुनाहरूको वैज्ञानिक विश्लेषण प्रकाशन गरेको छ । कोरोनाभाइरस र कोभिड–१९ को उत्पत्तिबारे गरिएको अनुसन्धानको केन्द्रबिन्दुमा हुनानस्थित समुद्री खाद्यपदार्थ र वन्यजन्तु बजार छ । सन् २०२० मा उक्त बजारबाट सङ्कलित जैविक प्रमाणहरूको निष्पक्ष वैज्ञानिकहरूद्वारा समीक्षा गरेको यो पहिलो अनुसन्धान हो। भाइरसलाई बजारमा बेचिने जनावरसँग जोडेर यो अनुसन्धानले कोभिड कसरी फैलियो भन्ने विषयमा नयाँ खोज आरम्भ गर्ने ठानिएको छ।

उक्त विश्लेषणका आधारमा वैज्ञानिकहरूको एक समूहले कोभिड १९ सङ्क्रमण गराउने भाइरस सबैभन्दा पहिला मानिसमा कसरी सर्यो भन्नेबारे सबैभन्दा गतिलो प्रमाण फेला पारिएको दाबी गरेको छ।यो शताब्दीकै सबैभन्दा खराब महामारीको कारण चर्को राजनीतिक विषय बनिरहेका समयमा पछिल्लो वैज्ञानिक खोजले यसको उत्पत्ति पत्ता लगाउने विषयमा नयाँ मोड ल्याएको छ। यो खोजले धेरै प्रतिस्पर्धी सिद्धान्तहरू अघि सारेको छ जुन प्रमाणित भइसकेका चाहिँ छैनन् तर अस्वीकृत हुने निष्कर्ष पनि कसैले प्रस्तुत गरिसकेको छैन। सबैभन्दा पछिल्लो विश्लेषणले यो भाइरसको उत्पत्ति एउटा प्रजातिको जनावरबाट भएकोप्रति सङ्केत गरेको छ।

यो विश्लेषण तीन वर्षअघि हुनानस्थित एक वन्यजन्तुको कारोबार हुने बजारबाट सङ्कलन गरिएका प्रमाणहरूमा आधारित छ जुन ठाउँलाई पहिलो पटक महामारी फैलिएको केन्द्र पनि ठानिएको छ।

‘र्‍याकुन डग’ सङ्क्रमण सार्ने जनावर
कोभिड एउटा रहस्यकै रूपमा रहेको सन् २०२० को सुरुवाती समयमा चीनको रोग नियन्त्रण केन्द्रले सो बजारबाट नमुनाहरू सङ्कलन गरेको थियो । ती नमुनाहरूमा रहेका आनुवंशिक जानकारीहरूको केही अंश हालै मात्र सार्वजनिक गरिएको छ । अनुसन्धानकर्ताहरूले यसलाई विश्लेषण गर्दै कुकुर प्रजातिको जङ्गली जनावर ‘र्‍याकुन डग’ मानिसहरूमा कोभिड सङ्क्रमण सार्ने पहिलो जनावर भएको सङ्केत गरेका छन्।

मार्च २० मा अनलाइनमा प्रकाशित विश्लेषणको निष्कर्षमा जिउँदा जङ्गली जनावरहरू मासुका लागि बिक्री हुने बजारको जुन ठाउँबाट लिइएको स्वाबमा सार्स कोभ २ भाइरस भेटिएको थियो त्यहाँ ‘र्‍याकुन डग’को डीएनए पनि फेला पारिएको थियो। बजार लामो समयदेखि बन्द रहेको र बिक्रीमा राखिएका जनावरहरू पनि मारिएका कारण कोभिड भाइरस फैलावटको भद्रगोल खोजीमा अझैसम्म यकिन प्रमाण फेला परेको छैन।

यस्तो संवेदनशील तथ्याङ्क प्रकाशनका लागि तीन वर्षसम्म गरिएको ढिलाइलाई कतिपय वैज्ञानिकहरूले निन्दनीय पनि भनेका छन्। अमेरिकी अधिकारीहरूले कोभिड गराउने कोरोनाभाइरस प्रयोगशालाबाट बाहिरिएको आशङ्कामा आफ्नो विश्वास बलियो बनाउँदै गर्दा यस्तो अनुसन्धान प्रकाशित भएको छ। चिनियाँ सरकारले भने भाइरस प्रयोगशालाबाट बाहिरिएको भन्ने कुरा अस्वीकार गर्दै आएको छ। अमेरिकी ऊर्जा मन्त्रालयसँगै सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि यसमा विश्वास गर्न सुरु गरेको छ। धेरै वटा अमेरिकी मन्त्रालय र निकायहरूले कोभिड उत्पत्तिको रहस्यबारे अनुसन्धान गरेर फरकफरक निष्कर्ष निकालेका छन्।

तर मार्च १ मा एफबीआईका निर्देशकले ‘कोभिडको उत्पत्ति अस्पष्ट बनाउन बेइजिङले सक्दो प्रयास गरिरहेको’ भन्दै प्रयोगशालाबाट बाहिरिएको कुरामा आफ्नो कार्यालय विश्वस्त रहेको बताएका थिए। एफबीआईले गरेको अनुसन्धान भने अझैसम्म सार्वजनिक गरिएको छैन।

बीबीसीले कोभिडको उत्पत्तिबारे अध्ययनमा संलग्न केही वैज्ञानिकहरूसँग कुरा गरेको छ। उनीहरू पछिल्लो विश्लेषण कोभिड फैलिन सुरु भएको रहस्यमा सबैभन्दा नजिक रहेको विश्वास गर्छन्।  तर अमेरिका र चीनबीचको विभाजनले यसको उत्पत्तिबारेको रहस्य पत्ता लगाउने वैज्ञानिक प्रयासहरूलाई असर गरिरहेको उनीहरू बताउँछन्।

नयाँ अनुसन्धानले के देखाउँछ ?
प्यारिसस्थित इन्स्टिच्युट अफ इकोलोजी एन्ड इन्भाइरमेन्ट साइन्सका वरिष्ठ अनुसन्धाता डा फ्लोरेन्स डिबारले बजारबाट सङ्कलित स्वाबको पूर्ण आनुवंशिक अनुक्रम पहिचान गरेकी थिइन्। वैज्ञानिकहरूले साझा स्थानमा उपलब्ध गराउने आनुवंशिक तथ्याङ्कहरू पाए लगत्तै उनी र उनका साथीहरूले भाइरस भेटिएकै स्थानमा रहेका कुन जनावरसँग उक्त नमुना मेल खान्छ भनेर अनुसन्धान गरेका थिए।

‘हामीले आफ्नो स्क्रिनमा परिणाम आउँदा सबैमा ‘र्‍याकुन डग’ मात्रै भेट्यौँ,’ उनले भनिन्। ‘जनावरहरू र भाइरसहरू हामीले सँगसँगै भेट्टायौँ,’ डिबार भन्छिन्। ‘त्यसले जनावरहरू सङ्क्रमित थिए भनेर प्रमाणित गर्दैन। हामीले देखेका कुराहरूका आधारमा यो व्याख्या सम्भव छ।’  सिड्नी विश्वविद्यालयका प्राध्यापक एडी होम्स पनि यो अध्ययनमा सहभागी थिए। उनी जनावरबाट भाइरस उत्पत्ति भएको विषयमा अहिलेसम्म आफूहरूले पाएकामध्ये ‘यो नै सबैभन्दा राम्रो प्रमाण’ भएको बताउँछन्। ‘हामी अब सबैभन्दा पहिले उत्पत्ति भएको जनावरसम्म पुग्न सक्दैनौँ। त्यो गइसक्यो’ प्राध्यापक होम्स भन्छन्। ‘तर यो असाधारण आनुवंशिक तथ्याङ्कले त्यो रहस्य पत्ता लगाएको छ। त्यसले कुन जीवहरू त्यहाँ थिए मात्रै भन्दैन कि तिनीहरू बजारको ठ्याक्कै कहाँ थिए समेत भनेको छ,’ उनले  भने।

कोभिडको उत्पत्ति पत्ता लगाउन अब वैज्ञानिकहरूले के गर्न सक्छन् ?
नयाँ तथ्याङ्कले कोभिडको उत्पत्ति पत्ता लगाउन वैज्ञानिकहरूलाई थप बाटो देखाइदिएको छ। तर त्यो बाटो पछ्याउन भने सहज छैन। सन् २०२० मा अनुसन्धानका लागि वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीमा नेदरल्यान्डस् स्थित अरासमस विश्वविद्यालयका प्राध्यापक मरिओन कुपमन्स पनि सहभागी थिइन्। उनले नयाँ विश्लेषणहरूले कोभिड निश्चित पसलहरूमै भेटिएको पत्ता लगाएका कारण अब त्यहाँ ल्याइएका जनावरहरू कुन ठाउँबाट ल्याइएका थिए भनेर अनुसन्धान हुनुपर्ने बताइन्। ‘त्यो पक्कै पनि गैरकानुनी विक्री थियो। त्यस कारण अब त्यो पत्ता लाग्छ कि लाग्दैन भन्ने प्रश्न हो,’ उनले भनिन्।

विक्रीका लागि यस्ता जनावरहरू पालिने ठाउँमा पनि जैविक प्रमाणहरू भेटिन सक्ने सम्भावना रहन्छ। यदि अनुसन्धानकर्ताहरूले सार्स कोभ २ बाट सङ्क्रमित भएर एन्टिबडी बनाइसकेका जनावरहरू पालिने ठाउँमा भेट्टाए भने त्यसले अर्को सङ्केत मिल्न सक्छ। यो आनुवंशिक सूचनाले अहिले भइरहेको खोजीलाई अझै सानो ठाउँमा सीमित गर्न सहयोग पुग्नसक्छ। तर जनावरमा ठ्याक्कै त्यही भाइरस भेट्न धेरै कठिन हुने प्राध्यापक होम्स बताउँछन्। त्यो प्रमाणको खोजीमा धेरै राजनीतिकरण भइसकेको छ। एउटा सिद्धान्तले जङ्गली जनावरबाट भाइरस उत्पत्ति भएको देखाउँछ भने अर्कोले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट भाइरस बाहिरिएकोतर्फ खोजी केन्द्रित गरेको छ।

अमेरिकाले गरिरहेका अनुसन्धानमा एफबीआईले हस्तक्षेप गरेपछि यो प्रयोगशालाबाट भाइरस बाहिरिएको विषयले फेरि समाचारका शीर्षक बनाएको छ।  बीबीसी साइन्स इन एक्सनसँगको अन्तर्वार्तामा प्राध्यापक होम्सले भने, ‘कोभिड फैलिन बजारबाट सुरु भयो। र अब हामी बुझ्न सक्छौँ कि त्यहाँ केही महत्त्वपूर्ण जनावरहरू थिए।’ ‘त्यो ३० किलोमिटर टाढाको प्रयोगशालाबाट सुरु भएन। अहिलेसम्म प्रयोगशाला वरपर सुरुवातमा एउटा पनि सङ्क्रमण देखिएको प्रमाण फेला परेको छैन।’

तर यस्तो विवरण सार्वजनिक गर्न भएको ढिलाइले चिनियाँ रोग नियन्त्रण केन्द्र विरुद्ध आक्रोश र निराशा पैदा भएको छ। गत ज्यानुअरीमै प्रकाशित भएको विवरणमा मानिसहरूको ध्यान पुगेकै थिएन। कतिपयले चिनियाँ रोग नियन्त्रण केन्द्रका अनुसन्धाताहरूले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुअघि यस्तो तथ्याङ्क सार्वजनिक गरेको हुनसक्ने ठानेका छन्। अरू अनुसन्धानकर्ताहरूले पनि यो सूचनाबारे जानकारी पाएको थाहा हुन आएपछि यसलाई फेरि लुकाइएको थियो। उक्त प्रतिवेदन अप्रिल ५ मा पुनः सार्वजनिक पहुँच हुनेगरी ’नेचर’ जर्नलमा मा प्रकाशन गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानम गेहब्रेयससले हालै मात्र कोभिड उत्पत्तिसम्बन्धी हरेक विवरण तत्कालै अन्तर्राष्ट्रिय समुदायसँग साझा गरिनुपर्ने बताएका थिए। प्राध्यापक होम्स राजनीतिभन्दा माथि उठेर विशुद्ध विज्ञानमा आधारित भएर भाइरसको उत्पत्तिबारे खोजी हुनुपर्ने बताउँछन्। ‘इतिहासको विकास क्रममा पनि जङ्गली जनावरबाटै मानिसहरूमा भाइरस आएको छ। हामीले गर्न सक्ने सबैभन्दा राम्रो काम भनेको यो कुराको राम्रो निगरानी गर्ने र आफूलाई अलग गर्ने हो,’ उनले भने।’किनभने यस्तो (महामारी) फेरि पनि हुन सक्छ।’

प्रकाशित: २५ चैत्र २०७९, शनिबार ०७:०८

Leave a Reply