No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रास्वपाले विकल्प दिने गृहकार्य आरम्भ गरेकै छैन

0

केशवप्रसाद भट्टराई ।
१. काङ्ग्रेस र एमाले निकट भविष्यमा न सच्चिन्छन् न सकिन्छन् । आफ्नो व्यापक सामाजिक आधारलाई पनि विकृत, भ्रष्ट, अराजक र अस्वस्थ्य बनाउँदै गएको र पार्टीको सामाजिक छवि क्रमशः छिन्न –भिन्न हुँदै गएको र दशकौँको त्याग, बलिदान र निष्ठाले निर्माण गरेको त्यस्तो सामाजिक आधार र छवि सच्याउने क्षमता भएको नेतृत्व वर्तमान र निकट भविष्यमा पनि ती दलको नदेखिएकोले आगे भगवानकी मर्जी भन्नु बाहेक केही भन्न सकिन्न ।

२. अब आयो विकल्पको कुरो !
पहिलो कुरो काङ्ग्रेस र एमालेको त्यस्तो सामाजिक आधारलाई आफ्नो पक्षमा ल्याउने र उनीहरूले भत्काएको त्यस्तो आधारलाई आफ्नो पक्षमा निर्माण नगरी कसैले उनीहरूको विकल्प झट्टै दिन नसक्लान् । उनीहरूप्रतिको आक्रोश र असन्तोषको विकल्प दिने हो वा वा उनीहरुको शासन संचालनमा रहेका अभाव र कमीहरूको विकल्प ? दुवैको विकल्प दिने कुरा आउँछ नै । विकल्प दिन्छौं भनेर जनतामा जाने अनि चुनावको परिणाम आइसकेको छैन –आफूले भ्रष्ट भनेको चोर भनेको नेताहरूको शरणमा परेर मन्त्रीको लागि खसी बजारमा गरे जस्तो मोलमोलाई गरेर सरकारमा जाने दलहरू पनि विकल्प हुन्छन् ?

३. गल्ती स्वीकारेर सच्चिने बाटो सधैँ खुला रहन्छ –त्यसैले सच्चिन पाइन्छ तर विकल्प दिन्छु भन्नेले अझै सरकारमा जाने कुरालाई प्रष्टसँग कुरा छिचोलेर अहँ –नाई, जान्न, जाँदै जान्न भन्न सकेको छैन । २७५ स्थानको संसदमा २१ स्थान पाएको पार्टीले एउटा –दुईटा मन्त्रालयमा ल राम्रो काम गर्ला तर उसले त सिङ्गो सरकारलाई सामूहिक दायित्व अन्तर्गत प्रतिनिधित्व गर्नु पर्दछ । अनि सरकारमा जाने दुई –तीन मन्त्रालयको दुई चार अभिलेख बोकेर बाँकीबारे थाहा छैन भनेर जनतामा जान नैतिक र राजनीतिक दृष्टिले उचित हुन्छ ?

४. अनि विकल्प दिन्छु भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान नै हाम्रो विचार भनेर सुख पाउन्न । सम्विधानको पनि दर्शन हुन्छ, सामाजिक, आर्थिक, सांस्कृतिक र विकाशको पनि दर्शन हुन्छ । संविधानबारे रास्वपाको दर्शन के हो ? संविधानलाई पालना गर्ने कुरा एउटा हो । त्यसको मर्यादा र सम्मान गर्नुपर्दछ तर आफूसँग पर्याप्त मत अर्थात् शक्ति भएमा यो संविधानलाई कसरी सुधार र परिमार्जन गर्ने, राज्य संरचना र शासनको स्वरूप कस्तो हुने हो त्यो संविधान सम्बन्धी दर्शनले दिशा निर्देश गर्दछ । यसो त स्थापित संवैधानिक मानदण्डमा यो संविधान कहीं पनि उभिन सक्दैन । संवैधानिक आधारमा वर्तमान संविधान कहीं पनि उभिन्न । अन्तर्यमा यो कम्युनिस्टहरूको दवाव–पेलान र काङ्ग्रेसको दृष्टिहीनताबाट जन्मिएको दिशाहीन र दर्शनहीन खेस्रा मात्रै हो ।

५. रास्वपा के आधारमा कुन दलको विकल्प–माओवादीको ? काङ्ग्रेसको ? एमालेको ? राप्रपाको ? ऊ समजवादी वा उदारवादी ? राजनीतिक, सामाजिक –आर्थिक र जनताका स्वतन्त्रता र अधिकारका सवालमा ऊ वामपन्थी, मध्यमार्गी वा दक्षिणपन्थी जनताको असन्तोषलाई प्रतिनिधित्व कुन दर्शनले गर्ने ? राम्रो र कुशल व्यवस्थापन, भ्रष्टाचार रहित स्वच्छ प्रशासनमैत्री दर्शन आवश्यक छ÷छैन ?

६. कार्यालय, अस्पताल वा कक्षा कोठामा पाँच मिनेट ढिलो जानु र पाँच मिनेट चाँडै फर्किनु पनि भ्रष्टाचार हो । कार्यालय वा मन्त्रालयमा आज भ्याइने र गर्न सकिने काम भोलिलाई सार्नु पनि भ्रष्टाचार हो । राष्ट्रिय र जनसरोकारका सवालमा संसदमा कुनै विधेयक दर्ता नै नगरी, त्यसमा छलफल नै नगरी एउटा विधेयक पनि पास नगरी संसद अधिवेशन अन्त्य गरिनु पनि भ्रष्टाचार हो । योग्यता र क्षमताको आधारमा छनौटका कुनै स्वतन्त्र वा निष्पक्ष विधि र प्रक्रिया अवलम्वन नगरी आफ्ना निकट नातेदार वा आसेपासेलाई कुनै पनि सरकारी वा दलीय पदमा ल्याउनु पनि भ्रष्टाचार हो । यो सवालमा अन्य दल र अन्य दलको सरकार वा मन्त्रीले गर्ने भ्रष्टाचारलाई रोक्ने–छेक्ने दायित्वलाई रास्वपाले कसरी हेर्छ ? भ्रष्टाचार कानुन वा व्यवस्थापनको मात्रै सवाल होइन , यो संस्कृतिको पनि सवाल हो । भ्रष्टाचारका हजार टाउका हुन्छन् –हरेक टाउकालाई एकै साथ वा क्रमशः छिनाल्न कसरी सम्भव हुन्छ ? शुरू कहाँबाट र अन्त्य कहाँबाट ?

७. राम्रो र कुशल व्यवस्थापन, भ्रष्टाचार रहित स्वच्छ प्रशासन पनि कुन विचार र दर्शनको आधारमा दिने ? कुन दर्शन अन्तर्गत र कस्तो राजनीतिक प्रणालीले दिने ? त्यो भनेको त्यहाँ व्यक्तिको भूमिका के ? व्यक्तिको अधिकार र स्वतन्त्रता र राज्यसँग व्यक्तिको सम्बन्धलाई कसरी बुझ्ने ? निजी उद्यम र व्यवशाय, व्यक्तिको आर्थिक स्वतन्त्रताको मान्यता र नीति के ? सामाजिक सुरक्षा, आरक्षण, सङ्घीयताको दर्शन के ? सुशासन र राज्य र समाजमा शून्य भ्रष्टाचारको लागि आवश्यक विधि, पद्धति र प्रणाली के हो ? शिक्षा र स्वास्थमा निजी क्षेत्रको भूमिका के ?
राज्यको कानुनले तोकेको शर्त पुरा गरेपछि व्यक्ति वा समूहले आफ्नो आर्जन खर्च गरेर आफूले रोजेको ठाउँमा, राम्रो प्रतिफल आउने स्थानमा स्कूल, कलेज, अस्पताल,विश्वविद्यालय खोल्छु भन्न पाइने–नपाइने ? कानुनले तोकेको शर्त पुरा गरेपछि सरोकारवाला अख्तियार प्राप्त्र व्यक्तिले एक मिनेट पनि त्यस्तो स्वीकृति वा सम्बन्धन रोक्नु भ्रष्टाचार हो, होइन ? त्यसलाई कसरी रोक्ने ?

८. एउटा राम्रो प्रजातान्त्रिक विकल्प मुलुकलाई आवश्यक थियो, छ र रहन्छ । नेपाली काङ्ग्रेसको विकल्पमा अर्को बलियो प्रजातान्त्रिक विकल्प मुलुकमा हुँदो हो त १७ साल पनि शायद आउन्नथियो । माओवादी विद्रोह उठ्ने पनि शायद थिएन । प्रजातन्त्रको विकल्प माओवाद , प्रजातान्त्रिक दलको विकल्प कम्युनिस्ट पार्टी हुनुनै मुलुकको राजनीतिक अस्थीरता र अराजकताको कारण बन्न पुग्यो । प्रजातन्त्रवादी दल बन्न खोज्दा खोज्दै काङ्ग्रेसको रीसले एमाले माओवादी पार्टीसँग एक किसिमले विलय हुन जान्छ –अदालतले मात्रै जोगाइदिएको हो एमालेलाई । एमालेको रीसले काङ्ग्रेस माओवादीको कार्यकर्ता भएर हिँड्छ । यसको लागि चाहिएको हो विकल्प तर विकल्प पनि उतै लतारिएर पुग्छ । त्यसैले पहिला विकल्पको सैद्धान्तिक आधार निर्माण नगरी विकल्प बन्दैन ।

९. रास्वपाले विकल्प दिने गृहकार्य आरम्भ गरेकै छैन, त्यसैले अहिलेलाई माथिका प्रश्नहरूको उत्तर ऊसँग नहोला तर ती प्रश्नका उत्तर आजै , अहिल्यै दिनुपर्दछ भन्ने होइन तर पर्दा पछाडि रहेर, विना नाम, बिना पहिचान साधना र तपस्याको रुपमा गम्भीर अध्ययन र अनुषन्धान गरेर यी प्रश्नहरूको उत्तर तयार पार्ने समिति र संरचना बनाउने र चाहिएको दिन यिनलाई जनता समक्ष ल्याउने बारे सोचिएको वा काम थालिएको होला त ?

प्रकाशित: १८ बैशाख २०८०, सोमबार ०५:२०

Leave a Reply