No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सामान्य मर्यादासमेत नाघेर पूर्वराजपरिवारप्रति ओलीले अपमानजनक टिप्पणी गर्नु के जरूरी छ र ?

0

नारायण गाउँले ।

यतिबेला रास्वपालाई गाली गर्यो भने मुखभरिको जवाफ खाइन्छ । कांग्रेस र माओवादीलाई कति गाली गरिरहनु ? परिस्थिति यस्तो बन्दै छ कि भोलि तीनवटै दल मिलेर चुनाब लड्नपर्ने हुनसक्छ । नगरौँ, गालीबाहेक अर्को सीप र योग्यता पनि छैन । यस्तोमा केपी ओलीले पूर्व–राजा र परिवारमाथि गाली सुरु गरेछन् । पूर्वराजा ज्ञानेन्द्रले बुहारी हिमानीलाई बोकेर ओलीमाथि ढुङ्गामुड़ा गर्न गए भन्दा पत्याइदिनेहरू पनि होलान् नै । पत्रकारले समाचारमा आफूलाई ‘उनी’ भनेर लेख्दा ओलीले बालुवाटारमैं बोलाएर ’उहाँ’ लेख्नुपर्ने भन्दै मर्यादा र सभ्यताको पाठ पढाएका थिए तर देशको पूर्व राष्ट्रप्रमुखप्रति चाहिँ उनको अभिव्यक्ति यति छुद्र र अमर्यादित किन होला ?

गणतन्त्रको डेढ दशकमा पूर्वराजा ज्ञानेन्द्रले कुनै व्यक्ति विशेषको नाम लिएर अपशब्द त पर जाओस्, सानो अभद्र टिप्पणी गरेको पनि सुनिएको छैन । हो, बेलाबेला वर्तमान राजनैतिक विसङ्गतिप्रति उनले असन्तुष्टि व्यक्त गर्छन्, तर सन्तुष्ट चाहिँ ओली, देउवा र प्रचण्डबाहेक अर्को को छ र ? जनताले भोटमार्फत भर्खरै पनि असन्तुष्टि व्यक्त गरेकै छन् । त्यसै पनि दुई सयवर्ष देश लुटेको आरोप लाग्ने राजपरिवारका सदस्यहरू भन्दा गणतन्त्रका लागि सर्वश्व त्यागेर लडेको भन्ने गणतन्त्रवादी नेताहरू धेरै धनी र बिलासी जीवन बिताइरहेछन् । तिनले विदेशमा लगेर सम्पत्ति थुपारेको पनि देखिन्न, न देशभित्रै अकूत सम्पत्ति जम्मा गरेको देखिन्छ ।

छिमेकी भारतमैं पनि दुई तीन पुस्ता पुराना राजारजौटाका नाममा आजसम्म विशाल महल र राजदरबार छँदै छन् तर नेपालमा दरबार र सबै सम्पत्ति देशलाई बुझाएर हिँडेका हुन् ज्ञानेन्द्र । विदेशमा निर्वासित या बिलासी जीवन बिताएको पनि होइन । विदेशी भूमिमा बसेर देशविरुद्ध षड्यन्त्र गरेको पनि होइन । अपमान र अभद्र टिप्पणी सहेरै पनि देशकै माटोमा रमाएको देखिन्छ ।

फेरि दुईसय वर्ष एकछत्र राज गर्दा पनि आफ्नो सुखसुविधाका लागि अन्य देशमा झैँ तिनले ठामठामैं निजी महल र संरचना बनाएको भन्ने पनि देखिन्न । सानैदेखि दरबार दरबार भन्ने सुनेर वसन्तपुर दरबारजस्तो लागेको न हो, त्यो पनि विश्वको कुन दरबारसँग तुलना गर्दा दरबार जस्तो देखिएला र ? राजा हुनु नै गल्ती र अपराध भन्ने पनि नहोला । प्रतिकार गर्ने अवस्थामा छैनन्, कमजोर छन् भन्दैमा सामान्य मर्यादा समेत नाघेर परिवारसहित लाञ्छना लगाउनु र अपमानजनक टिप्पणी गर्नु के जरूरी छ र ?

प्रकाशित: १८ बैशाख २०८०, सोमबार ०५:४६

Leave a Reply