No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मानव तस्करीको यस्तो अपराधमा संलग्नलाई कुनै पनि तवरले उन्मुक्ति दिनु अर्को ठूलो अपराध हुनेछ

0

नारायण गाउँले ।
संसदीय समितिले प्रेम राईलगायतका कर्मचारी र मन्त्रीलाई उहिल्यै वाइडबड़ी काण्डमा कारबाही गर्न सिफारिश गरेको थियो, तर ओलीजीले संसदीय समितिको निर्णय मान्य नहुने भन्दै उल्टै सबैलाई पुरस्कृत गरेर ईगो देखाएको याद नै होला । छानबिन हुनुपर्ने मान्छेलाई नै उल्टो छानबिन गर्ने निकाय अख्तियारको प्रमुख बनाएको घटना इतिहासकै दुर्भाग्य थियो ।

इतिहासकै लोकप्रिय प्रधानमन्त्रीका रूपमा झन्डै दुई तिहाई शक्ति हासिल गरेका केपी ओलीसँग सत्तरी करोड़ काण्डमा राज्यप्रति त्यति ठूलो बदनीयत र धोकाको नियत राखेका गोकुल बाँस्कोटालाई कारबाही गरेर एउटा स्वच्छ नेपालको सुन्दर नजीर स्थापना गर्न सक्ने अवसर थियो । तर उनले हाकाहाकी बचाउ गर्दै प्रस्तुत गरेको निर्लज्जता अझ ठूलो बिडम्बना थियो । त्यसले भ्रष्टहरूको मनोबल यति उकास्यो कि हिजो जस्तो लाज मान्नुपर्ने र होइन भनेर बचाउ गर्नुपर्ने जरूरी नै भएन । ’हो, बजाएकै हो, फेरि पनि बजाइन्छ’ भन्ने सम्मको मनोबल त्यसले प्रदान गर्यो । निर्लज्जताको पराकाष्ठा के भने उनै बाँस्कोटा आज भ्रष्टाचार छानबिन गर्ने संसदीय लेखा समितिमा सदस्य बनाइएका छन् । उनी पार्टी कार्यकर्तालाई सुशासनको प्रशिक्षण दिन्छन् ।

यति ग्रुपका लागि त कानुन नै संशोधन गरेर पोषण गर्ने र राज्यलाई नोक्सान पुर्याउने काम भयो । नेपाल वायुसेवा निगममा प्रतिष्पर्धी यति ग्रुपका व्यक्तिलाई सञ्चालक समूहमा ल्याउने जस्तो विश्वभर कतै नहुने कामदेखि त्यही समूहलाई राजदूत पद दिनेसम्मका काम भए । सरकारी एयरपोर्टको अवलोकन गर्न व्यापारिक स्वार्थ बाझिने गरी तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी यति ग्रुपकै हेलिकप्टर चढेर गएको घटना पनि अनैतिक नै थियो ।

त्यति धेरै प्रमाण र बदनीयतका आधार देखिएको ओम्नी काण्डमा समेत ओली नै अघि सरेर छानबिन गर्नु जरूरी नरहेको बयान दिए । विष्णु पौडेलले प्रत्यक्ष लाभ लिएको देखिँदा समेत त्यति ठूलो बलुवाटार काण्डमा उनी बचाइए । पक्राउ पुर्जी जारी भएका लक्ष्मी महतो कोइरीलाई ओलीबाटै संरक्षण भएको कसैबाट लुकेको छैन । शीर्ष तहमैं यसरी भ्रष्टाचारको संरक्षण भएपछि त्यसको असर धेरै तलसम्म पर्ने नै भयो ।
अहिले अलिकति सफाइको काम सुरु भएजस्तो देखिन्छ । यसलाई सकारात्मक मान्न पर्छ । तर यो लहरोमा आफ्नो कोर टिमको नाम आउन सुरु भएपछि यो पनि तुहिने त होइन भन्ने डर भने छँदै छ ।

मन्त्री, उच्च पदका कर्मचारी र पार्टीका शीर्ष नेता नै यसरी मानव तस्करीमा संलग्न हुने घटनाले देशको इज्जत र ’क्रेडिबिलिटी’लाई दशकौंसम्म ध्वस्त बनाउँछ । यसको असर देशभित्र मात्र होइन, विदेशमा बस्ने चालीस लाख बढ़ी नेपालीलाई समेत पर्छ । तिनका कागजातलाई अफिसदेखि एयरपोर्टसम्म ’चोर र नक्कली’ जस्तो आँखाले हेरिन्छ र अपमान गरिन्छ । यस्तो अपराधमा संलग्नहरूलाई कुनै पनि तवरले उन्मुक्ति दिनु अर्को ठूलो अपराध हुनेछ । सुध्रिने र सक्किने विकल्पबीच पहिलो विकल्पको सुरुवात हो भने शान्तिको सास फेर्न सकिन्छ ।

 

प्रकाशित: २१ बैशाख २०८०, बिहीबार ०३:४८

Leave a Reply