No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गगनहरु पार्टीभित्रको विकृतिको राजकिल्ला ढाल्न लाग्नुपर्छ

0

नारायण गाउँले ।

हो, कांग्रेस भन्ने पार्टीभित्र गगन थापाहरूले देउवाविरुद्ध बोल्ने हिम्मत गरेकै हो । पार्टीमा पुस्तान्तरण र सुधारका पक्षमा सक्दो प्रयास गरेकै हो । पुराना दलमा युवा नेताहरूले लाचार बनेर अध्यक्षको गोजीबाट नियुक्ति बुझ्दै गर्दा महाधिवेशनमा देउवाका उम्मेदवारलाई चुनौती दिएर जितेको पनि हो । संसदीय दलको चुनावमा समेत सम्झौता र लेनदेन नगरी देउवाविरुद्ध उभिएकै हो । स्वर्णिम वाग्ले जस्ता सक्षम र विज्ञ युवाहरूले टिकट पाउनुपर्छ भनेर पार्टीभित्र व्यापक दवाब र जनलहर सिर्जना गरेको हो । अझै पनि संसदभित्र तयारी गरेर र तथ्यसहित प्रस्तुत हुने सांसदमध्ये गगन थापा एक हो । रवि लामिछानेले समेत गगनविरुद्ध उम्मेद्वारी फिर्ता लिएर सद्भाव देखाएको हो ।

हो, पार्टीले उनकै मित्रविरुद्ध चुनावी कमाण्डर बनाएर उनको जीवनभरिको कमाइ सिध्याउने काम गरेको हो । जसले मन्त्री हुने लोभ त्यागेर र आफ्नै भविष्य दाउमा लगाएर एक्लै समेत देउवा र आरजूको मनोमानी विरुद्ध लड्यो, चुनावमै उभियो, उसैलाई भाउजूको देवरका रूपमा प्रस्तुत गरेर कमजोर बनाउने र देउवालाई बलियो बनाइरहने षड्यन्त्र थियो त्यो ।

हो, अब गर्दागर्दै, लड्दा लड्दै केही नलागेपछि या त आत्मसमर्पण गर्नु या विद्रोह गरेरे बाहिरिनुबाहेक अर्को भरपर्दो विकल्प पनि हुँदैन ।
तर आज अभूतपूर्व रूपमा एउटा सङ्गीन राष्ट्रघातको पर्दाफास हुँदै गर्दा, यसअघि कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट नेताहरूबीच हाहाकार सिर्जना हुँदै गर्दा, ओली र देउवा स्वयं बचाउका लागि खोपीबाट बाहिर निस्केर गुहार माग्ने अवस्था सिर्जना हुँदै गर्दा सरकारलाई कमजोर बनाउने, ढाल्ने या विषयान्तर गर्ने काममा लागेर अर्को भूल उनले नगरे हुन्थ्यो । जसरी, जहाँबाट जति सकिन्छ त्यति सहयोग र बल दिएर यो राष्ट्रिय बेइज्जती र घातमा संलग्नहरूलाई कठघरामा उभ्याउनु हाम्रो र उनको कर्तव्य हो । उनी लगायतका कांग्रेस र एमाले युवाहरूले खुट्टा नकमाउने हो भने पार्टी र देश शुद्धीकरण गर्ने यो एउटा सुनौलो मौका पनि हो ।

हो, प्रचण्ड दूधले नुहाएका नेता होइनन् । अरू सबै मैला र उनी सफा होइनन् । उनका पनि कैयौं फाइल छन् र होलान् । सधैँ प्रचण्डको सरकार रहिरहन्न । सधैँ उनी सत्ता र शक्तिमा रहन्नन् । त्यसबेला उनको फाइल पनि यसैगरी खोल्न सकिन्छ र बाँकी फोहोर सफा गर्न सकिन्छ । तर, ठीक यतिबेला उनलाई कमजोर बनाउने गरी माओवादीविरुद्धका मुद्दाहरू उचाल्नु, उनको कुर्सी हल्लाउन खोज्नु र उनलाई अनुचित सम्झौता गर्न बाध्य पार्नु कत्ति पनि देशहितमा हुने छैन । यो त जानाजान माओवादी भ्रष्टाचार देखाएर आफ्ना भ्रष्टहरूलाई जोगाउनुजस्तै हुनेछ । कसैको पनि नखोलम् भन्नुजस्तै हुनेछ । किनकि यिनै पार्टी नमिली यतिबेला कुनै सरकार बन्दैन ।

हिजो भर्खर प्रचण्डलाई एमाले, राप्रपा र रास्वपाले समेत हस्ताक्षर गरेर प्रधानमन्त्री बनाएको हो । उनी छ महिनाअघि ठीक र आज काम गर्न खोज्दा बेठीक कसरी हुन्छन् ? हो हिजो कांग्रेस–एमालेले प्रचण्डलाई बोक्नु पक्कै अनुचित थियो, माथिदेखि तलसम्मकै तालमेल र चुनाव चिन्ह नै भाड़ामा लगाउने परम्परा गलत थियो । तर, यतिबेला देशमा जसले गरे पनि र जति गरे पनि काम चाहिएको छ ।
आशा छ, गगनको पछिल्लो अभिव्यक्ति प्रचण्डलाई गलाउन नभएर कांग्रेसभित्रको विकृतिको राजकिल्ला ढलाउन लक्षित होस् !

 

 

प्रकाशित: २५ बैशाख २०८०, सोमबार ०३:५१

Leave a Reply