No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नक्कली शरणार्थी प्रकरण देशको अनुहारमा लागेको कालोमोसो हो

0

नारायण गाउँले ।
यसो सोच्नुस् त,
नेपाली भाषा बोल्ने, नेपाल र नेपाली संस्कृतिलाई माया गर्ने भुटानी नागरिकहरू नेपाली मूलको भएकै कारण देशनिकाला भए । ती दुधे बालक काखमा च्यापेर, एकसरो लत्ताकपड़ा बाहेक जीवनमा कमाएको सर्वश्व छोडेर जसोतसो ज्यान जोगाउँदै शरण माग्न आफ्नै पुर्ख्यौली भूमि नेपाल आइपुगे । नेपालले न कूटनैतिक पहल गरेर तिनलाई थातथलो फर्काउन सक्यो, न तिनलाई शरण दिन सक्यो । झन्डै एक पुस्ता तिनले शरणार्थी शिविर भनिने पानी चुहिने झुप्राहरूमा बिताए । विश्वका थुप्रै सङ्घसंस्थाहरूले तिनलाई राशनपानी र सहयोग नगरेको भए ती भोकभोकै र औषधीउपचार नपाएर मर्ने थिए ।

मनमा श्रद्धा, माया र आफ्नोपन भएको नेपालले तिनलाई अपनाएन, न जन्मभूमि भूटानले । भूटानले त ती नेपाली नै भएको र नक्कली भूटानी भएको आरोप लगाइरह्यो । ती दुधे बालक अनागरिक भएरै हुर्किए । नागरिकता नहुँदा यो विश्वमा, नेपालमा जीवन कति कष्टकर हुन्छ, सबैलाई थाहै छ । त्यसमाथि आजीवन शरणार्थीको सामाजिक हेला र तिरस्कारको कुरो नगरौं ।

रगतको नाता भएको, एउटै भाषा र संस्कृति भएको र आत्मा एउटै भएको नेपालले दुःख र सङ्कटको घड़ीमा आफ्नो छाती खुला गर्न सकेन । मान्छेलाई आजीवन शरणार्थी बनाउनु, नागरिक हकअधिकारबाट वञ्चित गर्नु पाप हो भन्दै कहीँ कतै कुनै सम्बन्ध नभएका युरोप र अमेरिकाले तिनलाई करोडौं खर्चेर आफ्नो देशमा नागरिकता दिन तयार भए । यो विशुद्ध मानवीय सहायता थियो । हजारौं बालबालिका नागरिकताविहीन भएर सहर र गल्लीमा नारकीय जीवन बिताउनु नपरोस् भन्ने सदाशयता थियो ।

हामी पहिले नै निष्ठुर बनिसकेका थियौं । ती शरणार्थीहरूको आत्मसम्मानमा पहिल्यै ठेस लागेको थियो । तर तिनलाई कसैले मानवीय करुणा राखेर पुनर्वास गराउँदा समेत हामीले गिद्धे नजर राख्यौं । यस्तो मानवीय सहयोगमा समेत सिङ्गो देश नै भाग खोस्ने र कमिशन खाने षड्यन्त्र र कीर्तेमा लागेको यस्तो घटिया उदाहरण विश्वमा बिरलै भेटिएला । सिङ्गो राज्य संयन्त्रले, देशका ठूला भनिएका दलहरूले त्यस्तो मानवीय सङ्कटलाई कमाउने भाँडो बनाएका रहेछन् । कति निर्दयी र भक्षक रहेछौं हामी ! ती एकलाख भूटानी शरणार्थीको आत्माले के सोच्दै होला ? तिनलाई नेपाल र भूटानले स्वीकार नगरेपछि सिङ्गो पुस्ता बर्बाद नहोस् भनेर दया राखेका देशले के सोच्दै होलान् ? आज हरेक भूटानी मूलका व्यक्तिहरूलाई नक्कली हुन् कि भनेर ती देशले, नागरिकले शङ्का गर्दै छन् । नेपालीमाथि कतै भूटानी भाग खोसेर आएका पो हुन् कि भनेर हेर्दै छन् । नेपाल भन्ने सगरमाथा र बुद्धको देश थियो, आज मानवतस्कर र संवेदना बेच्ने निकृष्ट व्यापारीको देश भएको छ । कति ठूलो पाप होला यो ।

देशमा रोहिङ्ग्या शरणार्थी छन् । तिब्बती शरणार्थी छन् । बर्मादेखि नेपालीभाषी भारतीय राज्यमा राजनैतिक दमन भयो भने तिनले नेपालमैं शरण लेलान् । देशले कुन मुखले भारतसँग वार्ता गर्ला ? उसले ती नक्कली हुन् भनिदियो र भूटानी शरणार्थीको नजीर दियो भने के होला ? भोलिका दिनमा बर्मासँग कसरी नेपालले ती बर्मेली नै हुन् भनेर अडान लिन सक्ला ? हाम्रा कागजपत्र, प्रमाण र सरकारी दस्ताबेज नै नक्कली हुने भएपछि भोलि देशको सीमाबारे लड्न पनि मुश्किल हुन्छ । देशका हक र अधिकारबारे अनेक फोरममा जुध्न पनि मुश्किल हुन्छ । सोच्नुस् त, देश नै कीर्ते भएपछि के हुन्छ ?

विश्वास कुनै पनि देशको सबैभन्दा ठूलो पूँजी हो । विश्वसनीयता ठूलो शक्ति हो । आज देशले त्यो गुमाएको छ । पैसा कमाउन हाम्रो जात जुन हदसम्म जान पनि तयार छ भन्ने देखाएको छ । मानवतासँग, मानवीय भावनासँग हाम्रो कुनै सम्बन्ध र सम्मान छैन भन्ने देखाएको छ । अन्य आर्थिक भ्रष्टाचारसँग यो राक्षसी प्रवृत्तिलाई तुलना गर्न सकिन्न ।

देशको अनुहारमा लागेको कालोमोसो हो यो । हाम्रो आत्मामा लागेको कलङ्क हो यो । यस्तो अमानवीय र देशद्रोही घटनामा यदि आफ्नो दल भएकै कारण तपाईं नरम हुनुहुन्छ, राजनीति गर्न चाहनुहुन्छ या अनेक बाहिरी प्रसङ्ग जोडेर यो मुद्दालाई कमजोर बनाउन चाहनुहुन्छ भने कृपया मेरो फेसबुक लिस्टबाट हटिदिनुहोला ! म तपाईजस्तै या तपाईं मजस्तै बनेको दिन फेरि भेट होला ! त्यतिञ्जेल माफी चाहन्छु !

 

प्रकाशित: २७ बैशाख २०८०, बुधबार ०८:०६

Leave a Reply