No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो केवल भ्रष्टाचारको कालोमोसो पोतिएको अनुहारमा विशेष कारणबस सेतो रङ्ग दल्ने प्रयास मात्र हो

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले विदेशीको दबाबमा नक्कली शरणार्थी प्रकरण छानबिन सुरु भएको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत मिश्रले अमेरिकाको दबाबमा अनुसन्धान सुरु गर्न सरकार बाध्य भएको बताएका हुन् । उनले भनेका छन्, ‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ । तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ । कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानविन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबिआइ’ले पनि गरिरहेको छ भनि गरेको टिप्पणीलाई नबिर्सिनु होला । भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र संभवतः गम्भीर र धम्किपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँण पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भएपनि साथ लिनैपर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरूद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।’

उनले अहिले गृहमन्त्रीलाई बधाई दिने बेला नभएको बताएका छन् । माओवादी शिविरको घोटाला, बालुवाटार काण्डलगायतका प्रकरण पनि छानबिन हुनुपर्ने बताए ।

उनले भनेका छन्, ‘होइन, कल्पना गर्न सकिन्छ भनेर कसैले सोच्नुभएको छ भने, विचार गर्नुहोस् त –माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइडबडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनियाँ जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बुढीगण्डकी काण्ड जस्ता अनगिन्ति काण्डहरूमा किन कोही ठूला नेता गिरफ्तार हुँदैनन् ? तसर्थ, “वाह, वाह गृहमन्त्री गजब गर्नुभयो, सरकार खुट्टा नकमाऊ” भन्नु बेकार छ। जुन दिन माथि उल्लेख गरिएका जस्ता सबै काण्डमा मुछिएका ठूला नेता पनि गिरफ्तारीमा पर्लान्, त्यस दिन जे, जे भन्नु पर्छ भनौँला । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहनु भएको हो भने, उहाँले पालैपालो अरू दर्जनौँलाई सप्रमाण पक्राउ गर्न सक्नुहुन्छ भन्नेमा सन्देह छैन। होइन भने, यसबाट कोही धेरै उत्साहित हुनुपर्ने कारण छैन। यो केवल भ्रष्टाचारको कालोमोसो पोतिएको अनुहारमा विशेष कारणबस सेतो रङ्ग दल्ने प्रयास मात्र हो।’

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार ०७:०७

Leave a Reply