मोहन लामा रुम्बा ।
संसारमा जहाँसुकै रहेकोे यहुदी भएपनि इजरायलको नागरिकता पाउने हक दिएको छ भने भारतको बिजेपी सरकारले भारतवर्ष भित्र रहेकोे जोसुकै सनातन धर्मावलम्बी जातिले भारतको नागरिकता पाउने अधिकार दिएको छ । यो जातिवादी कुरा होइन पुर्खाको रगतसँग जोडिएको माटोको कुरा हो । आज एउटा सांगीतिक कार्यक्रममा हिस्सा लिन थाइल्यान्ड बर्मा देखिन आएका नेपाली मुलका किशोरकिशोरीहरुको ढुकढुकी हेर्नु ! एयरपोर्टमा उत्रने साथ नेपाली माटोमा चुम्बन खाँदै ढोगेर आफ्नो पुर्खौली भूमिप्रति उनीहरुको अगाध प्रेम कसरी छचल्किने रहेछ ।
यी थाइल्यान्ड बर्मा मलेसिया देखि आएका नेपाली किशोर किशोरीहरुको जिजू हजुरबुबाहरु नेपालमा भन्दा त्यहीँ उत्तम भविष्य देखेर बसेका थिए होलान् । नेपाल भुलेर गएका थिए होलान् । तर तिनका सन्ततिहरु जतिसुकै सम्पन्न सुखी भएपनि अन्ततः आफ्नो पुर्खाको थातथलो आफ्नो पुर्खाको रगत मुछिएको माटोमा फर्कन नै खोज्छन् भन्ने कुरा अहिले यी सांगीतिक कार्यक्रममा भाग लिन आएका किशोरकिशोरीहरुले नेपालमै बस्न पाए‘ भन्दै मनको बह पोखाएको देख्दा जतिसुकै वर्ष बितुन्–युग बितुन् माटोसँग जोडिएको रगतको साइनो कहिल्यै हराउँदैन रहेछ भन्ने पुष्टि गर्छ । अहिले भावी सन्ततिको सुन्दर भविष्यको लागि भन्दै डिभी परेर ग्रिनकार्ड, पिआर लिएर युरोप अमेरिका अष्ट्रेलिया तिर जति नेपालीहरु गएका छन्, बसिरहेका छन्, त्यो आजको तपाईं हाम्रो बाध्यताले विवशताले हुनसक्छ तर तपाईंहरुको चौथो पाँचौ पुस्तामा पुगेपछि अहिलेको थाइल्यान्ड बर्माबाट आएका युवा पुस्ताहरुले जसरी आफ्नो जातको इतिहास खोज्दै म कहाँबाट आएको ? मेरो पुर्खा कहाँको ? मेरो थातथलो मेरो वंश भन्दै रगतको साइनो खोज्न थाल्दो रहेछ भन्ने अहिले सांगीतिक कार्यक्रममा भाग लिन आएका यी भाइबहिनीहरुबाट हामीले बुझ्न सक्दछौं।
भुटानबाट नेपाली खेदिए (किन खेदिए ? यसको भूराजनीतिक कारण के थियो ? कसरी भुटानी नेपाली चपेटामा परियो कुनै दिन फुर्सदमा लेखौंला) यी नेपालीहरु हाम्रै दाजुभाइ रक्त साइनोको थियो। अहिलेको जस्तो डिभी अथवा पिआर, ग्रिनकार्ड लिएर सुरक्षित भविष्य भन्दै बसिरहेको जस्तै त्यतिबेला भुटानमा गएर हलो कोदालो खन्दै बसिरहेको हाम्रै चार पाँच पुस्ता अगाडिको जिजू हजुरबुवाको सन्तानहरु थिए । कुनै पराई थिएनन् तर दर्दनाक कुरा भुटानले लखेटे ठिकै छ, गलत काम गरे ठिकै छ, तर तिनीहरु त आखिर हाम्रै दाजुभाइ त थिए नी ! कोही नभए हामी त थियौं नी ! हाम्रो रगतको साइनो जोडिएको दाजुभाइ हामी कहाँ नआएर अन्त कहाँ जाने ? जम्मा चानचुन एक लाख आएका थिए, एउटै जिल्लामा व्यवस्थापन गर्न सक्दैन थियो होला तर ७५ वटा जिल्ला त थिए ५० वटा जिल्लामा मात्रै भागै लगाएको भए पनि २००० घरधुरी नै त हुने थियो ।
तर त्यसो गरेन । उल्टै यी नेपाली शरणार्थी दाजुभाइलाई लामो समयसम्म लैनु गाई बनाएर चुस्ने काम गरिरह्यो । एक लाख भुटानी नेपालीलाई नागरिकता दिएर व्यवस्थापन गर्न नसक्नेहरुले ५ लाख भन्दा बढी बिहारीलाई नागरिकता बाँडेर बस्ने काम भयो, तिब्बतबाट भागेर आएका शरणार्थीहरु एकाध बाहेकका कोही खाली छैन सबैले नागरिकता लिइसकेको अवस्था छ । तर यी निरीह पहाडी मुलका नेपाली भुटानीहरुलाई भुटान सरकारले लात हानेर खेदेको ठाउँमा अर्को दुई लात हानेर नेपाल भित्र भारतले घुसायो त्यही माथि नेपाली नेता शासक वर्गहरुले जूकाले जसरी चुस्ने काम गर्दै रहे । अहिले त झन् असली शरणार्थीलाई रोकेर नक्कलीलाई घुसाएर झन् जिउँदै मार्ने काम गर्दै रहेछ भन्ने सर्वाङ्ग उदाङ्ग हुन पुग्यो । भुटानी नेपालीहरुलाई जीउँदो रहँदासम्म चुस्दै गरेको नेपाली शासकहरुले मरेपछि पनि अझै चोक्टा मासु लुच्छन लुछाचुँडी गर्न पछि नपर्ने यस्ता घृणित नेपाली शासकहरुको हामी कस्तो रैती भएछौं !