No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सत्ता बाहिर हुँदा मात्र किन उठाउँछन् ओली माओवादी क्यान्टोन्मेन्टको कुरा ?

0

नारायण गाउँले ।
वर्षौंसम्म पटक पटक मिलेर सरकार बनाउने, एकले अर्कोलाई जिताउने, पार्टी एउटै बनाउने, एक जेट दुई पाइलट भन्ने, प्रचण्ड डायनामिक नेता भनेर प्रसंशा गर्ने, सँगै जनयुद्ध दिवस मनाउने, बिदा दिने र कसैले यदु गौतमदेखि बाँदरमुढेको प्रसङ्ग उठाउँदा कम्युनिष्ट एकताविरोधी देशीविदेशी तत्व भन्ने !

–पार्टी फुटेपछि फेरि विदेशी दलाल भन्ने, आतङ्ककारी र भ्रष्टाचारी भन्ने, आफैं बाँदरमुढेको प्रसङ्ग उठाउने, अराष्ट्रिय तत्व भन्ने, कुहिएको फोहोरदेखि स्याल, सर्प, ब्वाँसो, बिच्छीजस्ता सबैखाले तुच्छ र अराजनैतिक गाली प्रयोग गर्ने । देश र राजनीतिबाट मेटाउनुपर्नेसम्म भन्ने ।

–अनि कांग्रेसले तत्काल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि आफैंले देशलाई चाहिएको नेता भन्दै प्रधानमन्त्री बनाउने, देशीविदेशी षड्यन्त्र चिर्दै प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमालेले छक्का हानेको दाबी गर्ने, उनलाई प्रधानमन्त्री नबनाउनेहरू धोकेबाज भएको भन्दै एमालेले न्याय गरेको दाबी गर्ने, कांग्रेसलाई फुस्ल्याउन सफल भएकोमा गर्व गर्ने । आफ्नै नमिठो विगत दोहोरिने गरी आधा दर्जन उपप्रधानमन्त्री बनाउने ।

–बालुवाटारमा प्रत्यक्ष लाभ लिएका विष्णु पौडेललाई आफै बचाउ गर्ने, अडियो नै बाहिरिँदा र स्वयं गोकुलले आफ्नो भएको स्वीकार गर्दासमेत नक्कली अडियो भन्दै आफैं बचाउ गर्ने, संसदीय उपसमितिले छानबिन गरेर कारबाही गर्न सिफारिश गरेका व्यक्तिलाई उल्टो मन्त्री र अख्तियार प्रमुख बनाउने, ऐन र कानुन नै संशोधन गरेर यतिलाई सरकारी सम्पत्ति पोस्ने अनि पुलिसले छानबिन गरेर पक्राउ पुर्जी जारी गरेका टोपबहादुरलाई पहिलो दिन नै बचाउ गर्दै पक्राउलाई षड्यन्त्र भन्ने ।

–तीन पल्ट प्रधानमन्त्री हुँदा, दुई तिहाई बहुमत हुँदा र कांग्रेससँग मिलेर माओवादीबाहेकको सरकार समेत बनाउँदा कहिल्यै क्यान्टोनमेन्टको भ्रष्टाचारबारे बोल्न नपर्ने, खोज्न नपर्ने । ती सबै पार्टीको अध्यक्षदेखि उपाध्यक्षसम्म बनाउन मिल्ने र गुणगान गाउन मिल्ने गरी स्वच्छ हुने । तिनलाई पटक पटक आफैंले मन्त्री बनाउन हुने ।

तर इतिहासकै एउटा भयङ्कर मानव तस्करी, देशद्रोह र भ्रष्टाचारको जालो क्रमशः खुल्दै गर्दा आज अचानक क्यान्टोनमेन्टको भ्रष्टाचारबारे यत्रो ठूलो आवाज उठाउनुपर्ने किन होला ? प्रचण्डले गरेको भनिएको भ्रष्टाचारको फाइल प्रचण्ड आफैंले खोल्ने भन्ने पनि कहीँ हुन्छ ? संसारमा कहीँ कतै नेताले आफैंलाई छानबिन गरेको र दोषी ठहर्याएको रेकर्ड छ ? तेरो खुल्दैन भने हाम्रो पनि नखोल भन्ने बाहेक यसको तात्विक अर्थ के हुन्छ ? त्यो फाइल भनेको के हो ? त्यसमा सबै भ्रष्टाचारको तथ्य र प्रमाण छ ? त्यो फाइल यत्रो वर्ष कसले लुकायो ?

कांग्रेस एमालेले पटकपटक माओवादीका लागि भोट माग्दा, तिनकै भाषामा सिद्धिन लागेको माओवादीलाई उनैले बचाउँदा, मिलेर सरकार बनाउँदा, पार्टी नै विघटन गरेर मिलाउँदा र गृह मन्त्रालय आफ्नै हातमा हुँदा याद नआएको क्यान्टोनमेन्ट अहिले जिब्रोमैं झुन्डिएको किन होला ? अब प्रमाण जति नष्ट भए होलान् भनेर हो कि, साँच्चिकै देशको माया लाएर हो कि, छानबिनलाई र मुद्दालाई ओझेल पार्न हो कि अथवा यो जालोको पछाडि आफ्नै कालो अनुहार नदेखियोस् भनेर हो कि ? के होला ?

साँच्चिकै भ्रष्टाचार भएको हो भने त यत्रो वर्ष प्रमाण नष्ट हुने गरी लुकाउने, छानबिन नगर्ने, हुन नदिने, आफू सत्तामा हुँदा ढाकछोप गर्ने, स्वार्थ बाझिने गरी सँगै मिलेर देशको तालाचाबी चलाउने, एउटै जेट उडाउने जस्ता काम पनि भ्रष्टाचार नै हुन् । भनिन्छ, अपराध गर्ने र त्यसलाई संरक्षण गर्ने दुबै अपराधी हुन् । भ्रष्टाचार देशको मुख्य रोग हो । र यस्तो आपराधिक रोगलाई समेत तुच्छ राजनैतिक स्वार्थका लागि कहिले दबाउने र कहिले उचाल्ने गर्नु ठूलो देशद्रोह हो ! हामीले देवता ठानेर पूजा गर्ने ती देशद्रोही हुन् !

प्रकाशित: ४ जेष्ठ २०८०, बिहीबार ०३:५१

Leave a Reply