No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बजेटले आर्थिक सङ्कटको समाधान दिन सक्दैन : सांसद विष्ट

0

 

काठमाडौं । सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले आगामी बजेटबाट आश गर्ने ठाउँ नभएको बताए ।

सांसद विष्टले भने, “जुनकिरीको पिँधले स्वर्ग उज्यालो हँुदैन भने झैँ, यो बजेटले समस्याको समाधान गर्न सक्दैन । विद्यमान आर्थिक सङ्कट र मन्दीबाट माथि उठाउन आगामी बजेटबाट आशा गर्ने ठाउँ छैन ।”

उनले अहिलेको बजेटबाट दिगो विकासको लक्ष्य हासिल गर्न नसकिने बताए । “दिगो विकासको लक्ष्यको वर्तमान अवस्था र मार्गचित्र सन् २०१६–२०३० ले १७ वटा मुख्य लक्ष्य प्राप्ती गर्न वार्षिक १७ खर्ब ७० अर्ब लगानी गर्नुपर्छ भनेको छ । वार्षिक सात प्रतिशत आर्थिक वृद्धि हुनुपर्ने बताएको छ”, सांसद विष्टले भने, “न्यून राजस्व सङ्कलन र घट्दो वैदेशिक सहायतामा १७ खर्ब ७० अर्ब लगानी गर्ने परिस्थिति निर्माण होला ? यसले दिगो विकासका लक्ष्य पूरा गर्ने सम्भावना देखिँदैन । यो बजेट कता हिँडिरहेको छ, स्वयंले नै बताइरहेको छ ।” उनले आगामी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताए ।

छलफलका क्रममा सांसद विष्टले अर्थतन्त्रमा देखिएको समस्याप्रति चर्चा गर्दै नेपालले ३१ वर्षदेखि अभ्यास गर्दै आएको बजारमुखी अर्थतन्त्रबारे समीक्षा एवं पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “बजारमुखि अर्थतन्त्रको अभ्यास गरेको ३१ वर्ष पुगिसकेको छ । तर जिडिपीमा ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र र देशको आर्थिक अवस्थामा समस्या नै समस्या छन् ।”

सांसद विष्टले वैदेशिक सहायता कटौती हुँदै गर्दा प्राप्त सहायताप्रतिसमेत सरकारको ध्यानाकर्षण गराए । “हामीले प्राप्त गरिरहेका वैदेशिक सहायता आवश्यकता, प्राथमिकता र राष्ट्रिय स्वार्थ अनुकूल प्राप्त भइरहेका छन कि दाताको चाहना र स्वार्थअनुसार परिचालन भइरहेका छन् ?” उनले भने । सांसद विष्टले पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापमा धेरै खर्चको व्यवस्था गरिएको भन्दै आगामी बजेटले आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए ।

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार ०९:०८

Leave a Reply