No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘तीन जनाको वंशाणु लिएर जन्मेका बच्चाहरू’

0

एउटा उच्च प्रविधिको सहायताले त्यस्ता बच्चाहरूको जन्म सम्भव भएको छ जसअनुसार उनीहरूमा तीन व्यक्तिहरूको आनुवंशिक गुण समावेश भएको हुन्छ । एउटा नयाँ प्रजनन प्रक्रियाले हानिकारक ’माइटोकन्ड्रिअल’ रोग लाग्न नदिन तीन जना मानिसहरूको डीएनए प्रयोग गर्छ र यसको परिणामस्वरूप बेलायतसहित विश्वका धेरै देशहरूमा हालै स्वस्थ बच्चाहरूको जन्म भएको छ । माइटोकन्ड्रिअल रिप्लेसमेन्ट थेरापी भनिने यो नयाँ प्रविधिले दुर्लभ आनुवंशिक अवस्थाका कारण बच्चा गुमाएका दम्पतीहरूमा आशा जगाएको छ ।

तर मानिसहरूको आनुवंशिक परिवर्तन गर्ने प्रक्रियाबारेको चिन्ताका कारण यो प्रविधिले विरोधहरूको पनि सामना गर्नुपरेको छ । माइटोकन्ड्रिअल दानबाट सबैभन्दा पहिले जन्मिएका केही बच्चाहरू यो वर्ष सात वर्षका हुँदैछन्। यसबीचमा यो प्रविधिको प्रयोग धेरै व्यापक भएको छ भने नियामक निकाय र अभिभावकहरूले पनि बच्चाको पहिचान र उत्पत्तिको विषयलाई लिएर नैतिक प्रश्नहरूको सामना गरिरहेका छन् । सबैभन्दा मुख्य प्रश्न चाहिँ यसरी जन्मिएका बच्चाहरूलाई उनीहरूको माइटोकन्ड्रिअल दाताको पहिचान थाहा पाउने अधिकार हुन्छ कि हुँदैन भन्ने हो।
माइटोकन्ड्रिआ के हो?
विज्ञहरूका अनुसार अहिले धेरै स्थापित भइसकेका शुक्राणु र अण्डादानबारे हालसम्म भएका अनुसन्धानले यसको जवाफ दिन र बालबच्चाहरूको भावनात्मक हितमा योगदान पुर्याउन सक्छन् । माइटोकन्ड्रिआ हाम्रो कोषहरूभित्र रहेका विशेष तत्त्वहरू हुन् जसले खानेकुराबाट पाइने ऊर्जालाई हाम्रो शरीरका लागि आवश्यक शक्तिमा बदल्छन्। तर तिनीहरूमा रोग निम्त्याउने तत्त्वले प्रवेश पाएको अवस्थामा नियमित काम गर्न सक्दैनन् । हामी आफ्नी आमाबाट माइटोकन्ड्रिया प्राप्त गर्छौँ। तर कुनै महिलाको शरीरमा भएका रोग निम्त्याउने तत्त्वले प्रवेश पाइसकेको अवस्थामा ती माइटोकन्ड्रिआ उनका बच्चाहरूमा पनि सर्छन् ।

माइटोकन्ड्रिअल प्रतिस्थापन थेरापी कृत्रिम गर्भाधानकै एउटा स्वरूप हो जसमा एक जना आमा र बुबाको डीएनए स्वस्थ माइटोकन्ड्रिआ भएकी महिलाले दान गरेको अण्डामा राखिन्छ । त्यसपछि विकसित हुने भ्रूणमा आफ्ना आमाबाबुको डीएनएसँगै थोरै मात्रामा दाताको आनुवंशिक तत्त्वहरू पनि हुन्छ। जुन करिब शून्य दशमलव एक जति मात्रै हुन्छ । दाताको डीएनए माइटोकन्ड्रिआमै हुने गर्छ। विज्ञहरू त्यसरी जन्मिएको बच्चालाई तीन जना अभिभावक भएको बच्चा भन्न नहुने बताउँछन्। तर आमाबाबु र दाता गरी तीन जनाको बच्चा भन्न मिल्ने उनीहरूको तर्क छ ।

मान्यता पाएका देशहरू
यसको प्रक्रियाबारेका नियमहरू विश्वमा अझै विकसित हुने क्रममा छन्। यससम्बन्धी कानुन बनाउने र यसलाई कानुनी मान्यता दिने केही अग्रणी देशहरूमध्ये यूके पनि एक हो। अस्ट्रेलियाले पनि सन् २०२२ मा यससम्बन्धी प्रक्रियालाई कानुनी मान्यता दियो । अमेरिकामा भने यो प्रक्रिया प्रतिबन्धित जस्तै छ। फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले सुरक्षाबारे प्रश्न उठाएपछि मानिसमा माइटोकन्ड्रिअल प्रतिस्थापन प्रविधि प्रयोग गरेर कुनै पनि अनुसन्धान गर्न पाइँदैन। क्यानडामा पनि यो प्रतिबन्धित छ। तर अर्को देशमा यस्तो प्रक्रिया पूरा गरेर मानिसहरूले कानुनी बन्देजलाई छल्ने गरेका छन्। सन् २०१६ मा अमेरिकामा बस्ने जोर्डनका एक जोडीले मेक्सिकोमा माइटोकन्ड्रिअल प्रतिस्थापन गरेर अमेरिकामा बच्चा जन्माए । दाताको माइटोकन्ड्रिअल डीएनएले आमाबाबुको डीएनएले जस्तो बच्चाको कपाल वा आँखाको रङ्ग अथवा व्यक्तित्वमा कुनै प्रभाव पार्दैन। किनभने माइटोकन्ड्रिअल दाताबाट निकै कम मात्रै आनुवंशिक तत्त्वहरू बच्चामा सरेको हुन्छ।

दाताको व्यक्तिगत पहिचान गोप्य
बेलायतमा माइटोकन्ड्रिअल उपचारका लागि आफ्नो अण्डा दान गर्ने महिलालाई त्यसबाट जन्मिने बच्चाको आनुवंशिक अभिभावक मानिँदैन र उनी अज्ञात रहन्छिन्। त्यसरी जन्मिएको बच्चाले उनको पहिचान खोजीका लागि कतै निवेदन समेत दर्ता गर्न पाउँदैनन् । तर १६ वर्षको उमेरबाट बच्चाहरूले आफ्नो माइटोकन्ड्रिअल दाताको व्यक्तिगत पहिचान नखुल्ने जानकारीहरू भने प्राप्त गर्न सक्छन्। जसमा उनीहरूको व्यक्तिगत र पारिवारिक स्वास्थ्यको पृष्ठभूमि जस्ता कुरा पर्छन् । तर शुक्राणु र अण्डा दान गर्नेहरूको पहिचान भने यूकेमा बच्चाहरूले गर्न सक्छन्। उनीहरूले १८ वर्ष पुगेपछि दाताको पहिचानका लागि आवेदन दिन सक्छन् ।

बेलायतस्थित ल्याङकास्टर विश्वविद्यालयका स्वास्थ्य संहिताका अध्यापक जोन अपल्बी माइटोकन्ड्रिअल दातालाई कानुनी रूपमै अज्ञात बनाउने यूकेको नियमनकारी निकायको निर्णयप्रति फरक मत राख्छन् । उनी शुक्राणु र अण्डा दाताको जस्तै माइटोकन्ड्रिअल दाताको पनि परिचय थाहा पाउने अधिकार बच्चाहरूमा हुनुपर्ने तर्क गर्छन् । ‘हालसम्मको मनोवैज्ञानिक प्रमाणहरूले के देखाउँछ भने अरूबाट प्राप्त अण्डा, शुक्राणु वा भ्रुणबाट जन्मिएकाहरूका लागि आफ्ना दाताको पहिचानबारेका सूचना थाहा पाउनु महत्त्वपूर्ण हुन्छ,’ अपल्बी भन्छन् । उनका अनुसार उनीहरूमध्ये कसैले दातालाई धन्यवाद दिन चाहेका हुन्छन्, कसैलाई आफ्ना दाजुभाइ वा दिदीबहिनी पत्ता लगाउने चाहाना हुन्छ भने कसैले आफ्ना दातासँग कुनै आनुवंशिक समानता भए नभएको थाहा पाउन पनि भेट्न खोजेका हुन्छन् । यस्तै कुराहरू माइटोकन्ड्रिअल दानमा पनि लागु हुने उनी बताउँछन् ।

बच्चाहरू किन दाता चिन्न चाहन्छन् ?
आनुवंशिक नाता वा ’जिन’ को मात्रा मात्रै नभएर अरू कारण पनि यस्तो माध्यमबाट जन्मिएका बच्चाहरूले दातासँग भेट्न चाहेका हुन सक्छन् । ‘मानिसहरूले आफ्ना दातालाई भेट्न उत्प्रेरित गर्ने कुराहरूमध्ये हामीले थाहा पाएका आधारमा के पनि देखिन्छ भने उनीहरूले कसैलाई भयानक रोगमुक्त जीवन दिएका हुन्छन्,’ उनले भने । नयाँ स्वरूपका परिवारमा गरिएको दशकौँको अनुसन्धानले बच्चाहरू आफ्नो जैविक उत्पत्ति र आनुवंशिक सम्बन्धबारे यसअघि सोचिएको भन्दा धेरै नै लचिलो भएको देखाएको छ। उनीहरूलाई दाताको सहयोगमा गर्भाधान भएको भन्ने कुरा नलुकाई सुनाउँदा उनीहरूको भलाइमा महत्वपूर्ण सहयोग पुग्न सक्छ ।

केम्ब्रिज विश्वविद्यालयको सेन्टर फर फेमिली रिसर्चले अण्डा दानबाट जन्मिएका बच्चाहरूमा उनीहरू नाबालक हुँदादेखि वयस्क हुँदासम्म अनुसन्धान गर्यो। यो अनुसन्धानमा त्यसरी जन्मिएका बच्चाहरूले आफू दान गरिएको अण्डाबाट जन्मिएको भन्ने थाहा पाउँदा कस्तो महसुस गरे भन्ने जस्ता प्रश्नहरूको पनि अध्ययन गर्यो । सबैभन्दा पछिल्लो पटक सन् २०२३ मा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार त्यसरी जन्मिएका बालबालिकाहरूको आफ्ना आमाबाबुसँग राम्रो सम्बन्ध रहेको पाइयो र मनोवैज्ञानिक रूपमा पनि उनीहरूको अवस्था राम्रो रहेको पाइयो।

मनोवैज्ञानिक कारण हो ?
यो अध्ययनको नेतृत्व गरेकी विश्वविद्यालयका पूर्व प्राध्यापक सुसन गोलम्बक माइटोकन्ड्रिअल दानबाट जन्मिएका बालबालिकाहरू हुने अध्ययनबाट पनि यस्तै नतिजा आउने आफूलाई विश्वास रहेको बताउँछिन् । ‘अण्डा दान गर्ने दाताबाट बच्चाहरूको जिनमा ५० प्रतिशत दाताबाट आउँछ भने माइटोकन्ड्रिअल दानमा दाताको अण्डाबाट माइटोकन्ड्रिअल डीएनए मात्रै बच्चाहरूमा आउँछ। त्यस कारण पनि बच्चाहरूले उनीहरूलाई जन्म दिने क्रममा गर्भाधानको तरिकाका कारण मनोवैज्ञानिक अप्ठ्यारो महसुस गर्ने अपेक्षा गर्न सकिँदैन,’ उनी भन्छिन्। अण्डा दानबाट जन्मिएका बालबालिकाहरूलाई वयस्क भएपछि उनीहरूका दाताबारे थाहा पाउने सुविधा पाउँछन् । शुक्राणु दानबाट बच्चा जन्माएका परिवारमा गरिने अध्ययनले खुला रूपमा दाताबारे बालबालिकालाई जानकारी दिँदा हुने फाइदाबारे थप प्रकाश पार्छ ।

समलिङ्गी परिवारबारेको अध्ययनमा समेत सहभागी अमेरिकी मनोविद् ननेट गार्ट्रल माइटोकन्ड्रिअल रोगका कारण बच्चाहरू गुमाउनुपर्ने अवस्थाका आमाबाबुलाई अब स्वस्थ बच्चा जन्माउने विकल्प भएको बताउँछिन् । सन् १९८०बाट सुरु भएको उक्त खोजले शुक्राणु दानबाट बच्चा जन्माएका समलिङ्गी आमाहरू र उनीहरूका बच्चाहरूको विकास र वयस्क हुँदासम्मको हुर्काइबारे अध्ययन गरेको थियो। गार्ट्रलका अनुसार उक्त अध्ययनले गोपनीयता वा खुलापनबारे एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ । ‘यौनिक अल्पसङ्ख्यक आमाबाबुका बच्चाहरूले सन्तान उत्पादनका लागि प्रयोग भएका प्रविधिबारे सानो हुँदा देखिनै थाहा पाउँछन्,’गार्ट्रल भन्छिन्। अध्ययनमा सहभागी भएका आमाहरू बच्चाको जन्मबारे उनीहरूसँग सधैँ खुलेर कुरा गर्थे। उनीहरू वयस्क भएपछि अध्ययनमा सहभागी भएका करिब आधा बच्चाहरूले दातासँग राम्रो सम्बन्ध भएको बताए भने २० प्रतिशतले दातासँग अझै नजिकको सम्पर्कमा रहने इच्छा व्यक्त गरे ।

‘सम्भव भएसम्म जान्ने अधिकार छ’
कतिपय सहभागीले आफ्ना दातासँग भेट्न चाहनुको एउटा कारण आफूसँग कति गुण मिल्छ भनेर पहिचान गर्ने इच्छा पनि रहेको बताए भने कतिपयले सामान्य जिज्ञासाका कारण भेट्न चाहेको बताए । आफ्नो अनुसन्धानले शुक्राणु दानबाट जन्मिएका बच्चाहरूलाई दाताबारे जानकारी नदिनुभन्दा उचित उमेरमा दाताबारे जानकारी र सम्पर्क गर्ने अवसर दिनु थप फलदायी हुने देखाएको गार्ट्रल बताउँछिन् । ‘मानवजातिलाई आफ्नो आनुवंशिक उत्पत्तिबारे सम्भव भएसम्म जान्ने अधिकार छ,’ उनी भन्छिन् । गार्ट्रलका अनुसार माइटोकन्ड्रिअल दानको सन्दर्भमा बच्चाहरूले दाताबारे जान्न चाहनुका अरू कारणहरू पनि हुन सक्छन् । उनका अनुसार यो सूचना ती बालबालिकाहरूलाई अहिले वैज्ञानिकले पत्ता लगाउन बाँकी रहेका धेरै कुराहरूमा पनि सहयोगी हुनसक्छ।

मनोवैज्ञानिक अनुसन्धाताको हैसियतमा आफू बच्चाहरूलाई माइटोकन्ड्रिअल दाताबारे पनि जानकारी दिन सिफारिस गर्ने उनी बताउँछन् । अहिलेको लागि माइटोकन्ड्रिअल दानको उपचार हामीलाई पूरै नयाँ लागेको छ र हामीलाई कुनै तरिकाले नयाँ मानव बनाइरहेको जस्तो लागेको छ। तर अन्य सन्तान उत्पादनसम्बन्धी अध्ययनले देखाएअनुसार यसरी जन्मिएका बच्चाहरू अरू सर्वसाधारण जति यो प्रक्रियासँग विचलित हुँदैनन् । जहिले र जसरी मानिसहरूले नयाँ प्रविधिलाई स्वीकार गरे पनि कृत्रिम गर्भाधानलाई हेर्ने दृष्टिकोणजस्तै यसलाई अँगाल्ने तरिका पनि देश अनुसार फरकफरक हुनसक्छ।
बीबीसीबाट

प्रकाशित: ४ असार २०८०, सोमबार ०५:०७

Leave a Reply