No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युद्धको आगोले अन्तत: आफैंलाई पनि पोल्छ नै !

0

नारायण गाउँले ।
राष्ट्रपति पुटिनले झन्डै दश वर्षअघि युक्रेनभित्र गृहयुद्ध शुरू गराउन आफ्ना अति विश्वासपात्र एवं उग्रराष्ट्रवादी एवगेनी प्रिगोझिनमार्फत् छदम् रूपमा खोलेको सशस्त्र समूह ’वाग्नर’ले आज पुटिनको सेनाविरुद्ध नै धावा बोलेपछि रसियामा यतिबेला सङ्कटकालको अवस्था आइपुगेको छ ।
’प्राइभेट आर्मी’ पनि भनिने उक्त ग्रुपले वर्षौंसम्म पुटिनको सहयोगमा युक्रेनको डोनबास क्षेत्रभित्र आफ्ना गतिविधि गर्दै आएको भएपनि रसियाले युक्रेनमाथि खुला आक्रमण सुरु गरेपछि उक्त ग्रुपले पनि खुलेरै युक्रेनविरुद्ध लड्दै आएको थियो । रसियाले यो ग्रुपलाई माली, सिरिया, लिबिया, सुडान जस्ता अफ्रीकी देशमा समेत प्रयोग गरेको थियो । कतिपय देशमा यो ग्रुप अझै कार्यरत छ ।

रसियन आर्मीसँगै मिलेर युक्रेनविरुद्ध लडि़रहेको उक्त ’प्राइभेट आर्मी’ले आश्चर्यजनक रूपमा रसियन आर्मीविरुद्ध नै धावा बोलेपछि यतिबेला रसियामा ठूलो सैन्य सङ्कट देखापरेको हो । पछिल्लो समय रसियन रेगुलर आर्मी रक्षात्मक जस्तो बन्दासमेत वाग्नरले भीषण युद्ध गर्दै युक्रेनबाट भूभाग जितेर रसियन सेनालाई हस्तान्तरण गरेको थियो । रसियाका जेलमा सजाय काटिरहेका हजारौं कैदीलाई यो समूहले भर्ना गरेर युक्रेनविरुद्ध लड्न प्रयोग गरेको थियो ।

मागेजति हतियार नदिएको भन्दै रसियाकै बजेटमा निर्भर उक्त ग्रुपले बेलाबेला रसियन आर्मी नेतृत्वको आलोचना गर्दै आएको थियो । सेनाविरुद्ध एक शब्द बोल्नेलाई पनि कड़ा कारवाही गरिँदै आएको भए पनि पुटिनका अति निकट मानिने प्रिगोझिन विरुद्ध चाहिँ सेनाले प्रतिक्रिया दिने गरेको थिएन ।

उक्त ग्रुपले यतिबेला रसियाको दक्षिणी शहर र क्षेत्रीय सैन्य केन्द्र कब्जा गरेको छ भने सेनाविरुद्ध मैदानमा उत्रिन आह्वान गर्दै मस्को कब्जा गर्ने सैन्य अभियानमा अघि बढ्दै गरेको बताइन्छ । रसियन सेनाको नेतृत्व भ्रष्ट, अक्षम र बेइमान भएकाले युक्रेनमा सोचे जति सफलता हात पार्न नसकिएको उसको आरोप रहँदै आएको थियो । आफ्नै देशको सेनाविरुद्ध उत्रिने आशङ्का चाहिँ गरिएको थिएन ।

रसियाभित्रै सुरु भएको विद्रोहले युक्रेन र यसका सहयोगीले तत्कालका लागि अनपेक्षित राहत महसुस गरे पनि विश्वको सबैभन्दा ठूलो आणविक हतियार रहेको रसियामा देखिएको यस्तो अस्थिरताले सिङ्गो विश्वलाई चिन्तित बनाएको हुनुपर्छ । खासगरी रसियाले नै यो ग्रुपलाई विभिन्न देशमा तैनाथ गरेकाले त्यहाँ समेत यसको प्रभाव के हुन्छ भन्ने चासो छ ।

विश्वकै शक्तिशाली मध्येको एक र अत्याधुनिक हातहतियारले सुसज्जित रसियन आर्मीलाई हराएर मस्को कब्जा गर्ने वाग्नरको कदम पक्कै आत्मघाती साबित हुनेछ । तर पनि करिब पचास हजारको सङ्ख्यामा रहेको दाबी गरिएको यो समूहको विद्रोहलाई समयमैं दबाउन नसक्ने र यो समूहको उग्रराष्ट्रवादी छविका कारण आमजनता र सेनाको समर्थन बढ्दै जाने हो भने रसिया ठूलो सङ्कटमा फस्न पनि सक्छ । यो आन्तरिक विद्रोहले युक्रेनभित्र लडि़रहेका लाखौं सेनाहरूको मनोबलमा ठूलो असर पर्न सक्छ ।

जे होस्, युक्रेन र युक्रेनी जनताविरुद्ध बमवर्षा गरिरहेको रसियाले आज आफ्नै शहर र नागरिकमाथि बम बर्साइरहेको दृश्यले युद्धका बाछिटा कति दूरगामी र विनाशक हुन सक्छन् भन्ने सङ्केत दिइरहेको छ । पुटिन र रसियन सेनाभन्दा पनि उग्रराष्ट्रावादी वाग्नर समूहको कब्जामा आणविक रसिया पुग्यो भने त्यो विश्वका लागि निकै घातक हुन सक्ने हुनाले यो विद्रोह दबाउन पुटिन सफल हुनेछन् भन्ने कामना गरौँ ।

प्रकाशित: १० असार २०८०, आईतवार ०३:३४

Leave a Reply