No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘यस्तो घटना घटाउने र माफीमै मिलाउने गलत नजिर नबसोस्’

0

प्रकाश सपुत ।
सर्वप्रथम रोमानियाको घटनाको घोर भत्सर्ना र निन्दा गर्दै कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्नुहुने सम्पूर्ण कलाकर्मी, संगीतकर्मी, अधिकारकर्मी, मिडियाकर्मीहरु, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लगायतका सम्पूर्ण संघसंस्थाहरुलाई धन्यवाद ! घटना थाहा पाएर चासो, चिन्ता र शुभेच्छा प्रकट गर्नुहुने संसार भरी छरिएर रहनु भएका नेपाली शुभेच्छुक, शुचिन्तकहरुमा आभारी छु । मायाको साटोमा माया । घटनासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भएपनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुनत सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिहरुको जीवनमा आइपर्ने यस्ता घटना र किस्साहरु पढ्दै , सुन्दै आएको हो । तर स्वयम् आफू चाहिँ तयार भैसकेको रहेनछु । भर्खर यात्रा शुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनेपक्षित घटनाहरुले यात्रा अफ्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भैरहेको छ । कोभिड पछाडि यस्तो डर( एन्जाइटी) लाई पटक–पटक जित्दै आएको भएर यो डर पनि जित्ने छु । जित्नु पर्छ ..
(मानसिक स्वास्थ्य बारे खुलेर कुरा गरौ है )

बोतल प्रहार गर्ने युवाको आचरण र परिस्थिति म राम्रोसँग जान्दछु । मैले मेरो जीवनकालमा यस्तो स्वभावका धेरै साथीहरुको संगत गरेको छु । त्यसमाथि सानै उमेरमा ठूलो रकम तिरेर विदेश जानुपर्ने बाध्यताले धेरै नेपालीहरुमा चरम निरासा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ । म विदेश कार्यक्रमहरुमा जाँदा प्रायः सबै ठाउमा यो विषयमा छलफल हुने गरेको पनि छ । यो घट्ना एउटा संयोग मात्रै होइन हाम्रो बाध्यता र परिस्थितिको उपज पनि हो । मैले आफ्नो सिर्जनामा यो विषय समेट्दै आएको छु । र सधै हाम्रो राज्य व्यवस्था, सरकार र नेतृत्व संग प्रश्न गरिरहनेछु !
अन्त्यमा,
यो तस्बिर पनि रोमानियाकै हो । हामी लन्चको लागि एउटा इटालियन रेष्टुरेन्टमा जाँदा म आएको थाहा पाएर भित्र किचनमा काम गरिरहेका नेपाली दाजुहरुले म्यानेजरसँग अनुरोध गरेर आफ्नो कामको पोशाक मै मसँग तस्बिर लिनुभएको थियो । पछि म्यानेजरले रोमानिया भाषामैं हामीलाई भन्दै थिए, ‘यिनिहरुलाई यत्ति धेरै खुसी मैले कहिल्यै देखेको थिइनँ !’ यो सुनेर म झनै खुसी भए। हामी सबै आफ्नो – आफ्नो कर्म गरेर जिवन चलाउछौ । जीवन कटाउँछौं । यसरी आफ्नो कर्मले अरुलाई खुसी बाँड्न पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । मैले कमाएकै तपाईंहरुको प्रेम हो । शुभेच्छा हो र आममानिसको भन्दा अलिकति फराकिलो पहिचान हो ।

बाँकी धनपैसा त अरु कुनै पेसा गरेर पनि कमाउन सकिन्थ्यो किनकि म पहिले देखिनै आफ्नो परिवार, जीवन र भविष्यप्रति जिम्मेवार र सचेत मानिस हुँ । एक किसिमको प्रगति मैले जुनसुकै पेसमा पनि गर्न सक्थें ।

जीवन आफैंमा एउटा यात्रा हो । यो यात्राको लागी म हिडेको बाटो मेरै रोजाई हो । यसका सबै उतार–चढाव स्वीकार्य छ । तर यस्तो घटना घटाउने र माफी मै मिलाउने गलत नजिर नबसोस् । प्रेम, सम्मान, सुरक्षा, संस्कार, हार्दिकता, मानवता हामी सबैमा हुन जरुरी छ । समय परिस्थितिवश यस्तो घटनाहरु घट्छन् । गल्ती कमजोरी हुन पुग्छन् । यसलाई जसोतसो स्वीकार्न र सन्तुलन गर्न सकिन्छ । अब गोली नै ठोके त अलग कुरा भयो तर कसैले यस्ता सानातिना घटना घटाएर, निरन्तर नकारात्मक व्यङ्ग्य र विचार प्रवाह गरेर, प्रत्यक्ष अप्रत्यक्ष वचन लगाएर खराब नियतबस मलाई निरुत्साहित गर्ने सोचिरहनु भएको छ भने तपाई अलरेडी असफल सोचमा हुनुहुन्छ । किनकी मानिसहरुलाई मनोरन्जन प्रदान गर्ने, प्रेम र खुसी बाँड्ने र आफ्नो सिर्जनामार्फत समाज, सरकार र व्यवस्थालाई प्रश्न गर्दै अगाडि बढ्ने मेरो यात्रालाई अब कुनै विचार, वचन र बोतलको प्रहारले रोक्न सक्दैन । हस, नयाँ सिर्जना र नयाँ कार्यक्रममा भेटौंला है ।

प्रकाशित: १५ असार २०८०, शुक्रबार ०९:२३

Leave a Reply