No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रभक्तिलाई सिर्जनात्मक रूपमा प्रयोग गर्ने कि !

0

नारायण गाउँले ।
हाम्रो ऐतिहासिक पूँजी र भूमिको महत्वबारे प्रवचन गर्दै पूर्वप्रधानमन्त्री केपी ओली भन्नुहुन्छ ‘हामीसँग ईशाको पाँचौं शताब्दीको नालन्दा विश्वविद्यालय थियो, ईशापूर्व सातौं शताब्दीको तक्षशिला थियो । त्यति पुरानो शैक्षिक परम्परा हामीसँग थियो । ज्ञान यहाँ थियो । विद्वान् यहाँ थिए । अन्यत्र त क्याम्ब्रिज जम्मा साढ़े तीन सय वर्षको भयो । अक्सफोर्ड साढ़े चार सय वर्षको भयो । न्युटनले गुरुत्वाकर्षणबारे पत्ता लगाउनु पाँचसय वर्षअघि भाष्कराचार्यले पत्ता लगाएर ११५० मा किताब नै लेखिसकेका थिए । यो भूमि अध्येता, ज्ञानी र इतिहास रचियताहरूको हो । यो देश हिमालको देश हो ।’ नयाँ भनिएका दल र व्यक्तिले पुरानाहरूको योगदान र परम्परालाई सम्मान गर्न नसकेकोमा उहाँको यो टिप्पणी आएको देखिन्छ । प्रसङ्ग जे होस्, यो टिप्पणीको सार निकै सुन्दर छ ।

एकछिन ध्यान दिएर सोच्नुहोस् । सबैभन्दा पहिला त धेरै तथ्यगत त्रुटि रहेपनि तक्षशिलादेखि नालन्दा र भाष्कराचार्यदेखि अक्सफोर्डसम्मको प्रसङ्ग र विषय जोडेर बोल्न सक्ने बीपीपछि अर्को शीर्ष नेता नभएकाले उहाँलाई धन्यवाद दिऊँ । आफ्नोलाई बढ़ाइ चढ़ाइ गर्दा अर्कोलाई भएको भन्दा सानो देखाउने हामी सबैको बानी हुन्छ । क्याम्ब्रिज र अक्सफोर्ड दुबै उहाँले दाबी गरेभन्दा डबल पुराना भए पनि तक्षशिला र नालन्दाभन्दा पुराना होइनन् नै ।

अब एकछिन हाम्रो ब्राण्डको राष्ट्रियताका सन्दर्भबाट हेरौं । ओलीजीले हाम्रो भन्नुभएको तक्षशिला हालको पाकिस्तानभित्र पर्छ भने नालन्दा भारतको बिहार राज्यमा पर्छ । ओलीजीले हाम्रो भनेर नाम लिनुभएका गणितज्ञ भास्कराचार्यको क्षेत्र उज्जैन अर्थात् हाल भारतको मध्यप्रदेशभित्र पर्छ । उहाँले गरेको प्रवचनभित्र देशको, हाम्रो भूमि र इतिहासको वर्णन छ । कतै पनि यी क्षेत्र पाकिस्तान या भारतका हुन् नभनी ’हाम्रो’ भनेर सगर्व भनिएको छ ।

अब भारत या पाकिस्तानको एउटा सांसदले ओलीलाई औंला उठाउँदै हाम्रो क्षेत्रलाई आफ्नो भन्ने भनेर संसद अवरुद्ध गर्यो भने हामीलाई ऊ कति सङ्कीर्ण स्वभावको लाग्ला ? नेपालले पाकिस्तानी राष्ट्रियता र स्वाधीनतामाथि धावा बोलेको भनेर कसैले आन्दोलन गर्यो भने हामीलाई कस्तो नादानी लाग्ला ? ओलीले त्यो बोली नसच्याएसम्म नेपालीलाई दिल्ली हुँदै या इश्लामावाद हुँदै जान दिँदैनौं भनियो भने कति हास्यास्पद लाग्ला ?

ध्यान दिएर हेर्नुभो भने ओलीजीको त्यो प्रवचनले भारत या पाकिस्तानको राष्ट्रियतालाई एक इन्च कमजोर बनाउन्न । फेरि त्यो नेपाल सरकारको दाबी पनि होइन । हामी भारतीय उपमहाद्वीपलाई धेरैजसो प्रसङ्गमा ’हाम्रो’ भनिरहेका हुन्छौं । रामकृष्णदेखि बुद्धसम्म र कालिदासदेखि पाणिनिसम्म हाम्रै हुन् भन्ने सामान्य बुझाइ र बोलाइ हुन्छ । त्यसै प्रसङ्गमा हाम्रो पूर्वीय ज्ञान र परम्पराको वैभवलाई इङ्गित गर्दै ओलीजीको उक्त भनाइ आएको हो । संस्कृतकालीन सभ्यतालाई महत्व नदिने हुनाले पाकिस्तानका लागि तक्षशिलाको खास गौरव नभए पनि नालन्दा र भाष्कराचार्यहरूको बखान गर्दा भारतीय राष्ट्रियता बलियो नै हुन्छ, कमजोर हुँदैन । त्यसैमा पनि राष्ट्रियतासँग यो बोलीको कुनै सम्बन्ध होइन । त्यसैले हुनुपर्छ, कुनै भारतीय नागरिकले यस्तो प्रवचनलाई राष्ट्रियतासँग जोडेर हालसम्म विरोध गरेको सुनिएको छैन ।

तर, एकछिन हामीलाई हेरौं । भारतीय शासक अशोकले बुद्धजन्मस्थल लुम्बिनीको पहिचान गरी अशोक स्तम्भ गाडेको त हामीले पढ़ेकै छौं । सोही स्तम्भका आधारमा अहिलेको लुम्बिनीको खोज र प्रमाणिकता कायम भएको हो । रोचक के छ भने यो खोज पनि हामीले गरेको नभई अंग्रेजकालीन भारतीय पुरातात्विक विभागले गरेको हो । भारतीय प्रधानमन्त्रीले नेपालको संसदमा उभिएर बुद्धको जन्मस्थल नेपाल हो भनेका छन् भने बुद्धपूर्णिमामा लुम्बिनीमैं पुगेर ध्यान गरेका छन् । संयुक्त राष्ट्रसङ्घ अन्तर्गत युनेस्कोले लुम्बिनीलाई बुद्ध जन्मस्थल मानेको छ र कहीँ कतै यसमा द्विविधा बाँकी छैन ।

तर कुनै एउटा भारतीय गायक या नायकले जानअनजानमा बुद्ध भारतमा जन्मिएको भनिदियो भने उसको अज्ञानता दुख्दैन, हाम्रो राष्ट्रियता दुखिहाल्छ । भारत बुद्धभूमि हो भन्यो कुनै नेताले भने वाह, हाम्रो बुद्धको प्रसंशा भयो भन्ने हामीलाई लाग्दैन, राष्ट्रियता खतरामा पर्यो जस्तो लाग्छ । जबकि जन्मिनेबाहेक ज्ञान प्राप्त गर्ने, शिक्षादीक्षा लिनेदिने र मृत्यु सबै अहिलेको भारतमैं भएको हो र विश्वभर भारतबाटै बुद्ध धर्म फैलिएको हो ।

कुनै एउटा सिनेमामा सीताको प्रसङ्गमा भारतीय नारीमाथि कुदृष्टि राख्ने हिम्मत कसैले नगरोस् भन्ने डाइलग आयो । हाम्रो राष्ट्रियता दुखिहाल्यो । यो भनेको हामीले हिमानी शाहलाई कसैले दुर्व्यवहार गर्यो र ’खबरदार, नेपाली छोरीबुहारीलाई कसैले दुर्व्यवहार नगरोस्’ भन्यौं भने भारतको राष्ट्रियता दुःखे जस्तै हो । सीता जनककी छोरी हुन् भन्ने विश्वभरका हिन्दुहरूबीच स्थापित सत्य हो । भारतीय प्रधानमन्त्रीले जनकपुरमैं आएर यो कुरा बोलेका छन् । अयोध्याबाट हरेक वर्ष जनकपुर जन्ती आउँछ । बस चल्छ । कन्फयूजनको कुनै ठाउँ छैन । सँगसँगै सीतालाई भारतीयले आफ्नो मान्दा हामीलाई दुःख्नुपर्ने पनि केही छैन । सीताको विवाह उतै भएको हो । अपहरण र युद्ध पनि उतै भएको हो । उनी अयोध्याकी रानी पनि हुन् ।

रोचक त के छ भने, आज विदेशीसँग विवाह गरेर जाने नेपाली छोरीलाई नागरिकता राखी राख्ने हक छैन । ती विदेशी नै हुन्छन् । पढाइ या रोजगारीका लागि विदेशिएका गैरआवासीय नागरिकले विदेशी नागरिकता लिए भने स्वतः नेपाली रहन्नन् । तिनको नागरिकतालाई निरन्तरता दिँदा देश सङ्कटमा पर्छ । देश छोडेर गएका बुद्ध, अरनिको, तेन्जिङ नोर्गे या विवाह गरेर गएकी सीता या भृकुटीचाहिँ पूर्ण नेपाली नै रहन्छन् । तिनमाथि तिनले छानेका देशले आफ्नो हक जताउँदा हामीलाई दुख्छ । हाम्रो राष्ट्रियता समृद्धि, विकास, नागरिक सन्तुष्टिमा भन्दा यिनै विषयमा बढ़ी सजग देखिन्छ ।

जुन मान्यता, परम्परा, ऐतिहासिकता, प्रमाण र अनुमानका आधारमा सीता जनकपुरकी मानिएकी हुन् त्यस्तै आधारमा राम अयोध्याका र कृष्ण मथुराका मानिएका हुन् । हजारौं वर्षदेखि यी मान्यता स्थापित छन् । बरु हामीले राष्ट्रिय रूपमैं राम भारतीय होइनन्, नेपाली नै हुन् भनेर दाबी गरेका थियौं । कोरोनाको लकडाउनमा भव्य रथयात्रा गरेका थियौं । अयोध्याबाट जनकपुर जन्ती आउन टाढा हुन्छ भन्ने हाम्रो तर्क थियो । बुद्ध भारतमा जन्मेका हुन् भनेर भारतले रथयात्रा सुरु गरेजस्तै दाबी हो यो । यो दाबीले चाहिँ तिनलाई दुख्नुपर्ने हो । किनकि राममन्दिर र अयोध्या भारतीय जनता पार्टीको मूल एजेन्डा नै हो । तर, कसैले खास विरोध गरेन, रिसले आफ्नो सम्पत्ति जलाएन । किनकि एउटा शासकले भन्दैमा यस्ता पौराणिक र ऐतिहासिक तथ्य बदलिने कुनै सम्भावना छैन । भगवान् शिवलाई हामीले आफ्नो भन्दा चीनले मेरो कैलाशपतिलाई किन आफ्नो भनिस् भन्दैन ।

विश्वमा धेरै देशहरूसँग साझा हेरिटेज हुन्छ, साझा ऐतिहासिक पूँजी हुन्छ । साझा पौराणिकता हुन्छ । आज राजनैतिक सीमाले त्यस्ता हेरिटेज यताउता भए पनि त्यसमा सबैको हक हुन्छ । ओलीजीले भनेजस्तै नालन्दा हाम्रो हो, तक्षशिला हाम्रो हो र पूर्वीय ज्ञानभण्डार हाम्रै हो । बुद्ध या सीतालाई भारतले हाम्रो हो भन्छ भने त्यसमा दुःखी हुनुपर्ने के छ र ? अझ विश्वले नै हाम्रो भनोस् भन्ने सोच पो चाहिन्छ ।
राष्ट्रभक्ति पनि आफैमा एउटा ठूलो शक्ति हो । यसलाई सिर्जनात्मक रूपमा प्रयोग गरेर साँच्चिकै बलियो देश बनाउन सकिन्छ कि !

प्रकाशित: १६ असार २०८०, शनिबार ०४:०४

Leave a Reply