No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय

0

काठमाडौँ  । सत्तारुढ गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले थापालाई उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

उनले बैठकमा राप्रपासमेत लिएर नयाँ सरकार गठनमा अघि बढ्ने विषयमा समेत छलफल भएको बताए । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहतिको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन् ।

आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते साँझ ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । ९३ सदस्य रहेको कोशी प्रदेशमा बहुमत पुर्याउन ४७ सीट आवश्यक पर्छ । कोशीमा एमालेको ४० र राप्रपाको ६, नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ गरी गठबन्धनसँग ४६ नै सीट छ ।

प्रकाशित: १८ असार २०८०, सोमबार १२:३४

Leave a Reply