No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अब नेताहरुको टाउका जोडेर होइन, भविष्य भएका युवाहरुको मन जोडेर अघि बढ्नुपर्छ

0

शंकर पोखरेल ।

यतिबेला नेकपा ब्यूँताउने कुराको चर्चा चलाइएको छ । विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सकृय देखिन्छन् । यतिसम्मकी आम चुनाववाट प्राप्त जनादेश अनुरुप नयाँ गठवन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरुनै वामपन्थी एकताको कुरा गर्न थालेका छन् । नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा(एमाले)का विरुद्धमा घेरावन्दी गर्नेहरुले नेकपा ब्यूँताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरा गर्नु ‘काशी जानु कुतीको वाटो’ भनेझैं हो । नेकपा(एमाले) यस्ता बेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ ।

अब नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक ध्रुबीकरण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यसको लागि प्रमुख दलहरुलाई नीति, कार्यक्रम र योजना सहित सुदृढ गर्नु आवश्यक छ । तर त्यो असफल भइसकेको नेकपाको पुनःस्थापनाको बाटोवाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुबीकरणको बाटोवाट मात्र सम्भव हुन्छ । तसर्थ अब नेताहरुको टाउका जोडेर होइन भविष्य भएका युवाहरुको मन जोडेर आन्दोलनलाई सुदृढ गर्ने बाटोमा अघि वढ्न सक्नु पर्दछ ।

अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्य गर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने हुन्छ । नेकपा(एमाले) त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिकरुपमा नयाँ ढंगले अघि बढ्न प्रतिवद्ध छ ।
अब हरेकले महसुस गर्ने वेला भयो–विकास र समृद्धिका लागि गठबन्धन नामको अस्थिरता र अलमलको बाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ ।

 

प्रकाशित: १९ असार २०८०, मंगलवार १६:५२

Leave a Reply