No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सपनामा अद्भूत क्षमताका धनी पृतम सिंहसँग !

0

शारदाप्रसाद त्रिताल ।
सपना पनि कस्तो देखेको ! हिजो राति सपनामा चर्चित पात्र पृतम सिंहसँग भेट भएछ । उहाँलाई देख्नासाथ मैले सोधें तपाइँको यत्रो चर्चाको रहस्य के हो ? उहाँले भन्नु भएको घटनाको सार यस्तो थियो–

प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतीय सिनेमाको शैली अपनाइयो भन्ने कुरामा उहाँ विश्वास गर्नु हुन्न । योजनाबद्ध रुपमा काम भएको कुरा गर्नुभयो । उहाँले काठमाडौं –भक्तपुर–ललितपुर मात्र गर्नु भएन काठमाण्डौ–दिल्ली पनि दौडधूप गर्नुभयो । बुढानिलकण्ठ (काठमाडौं) पुगेर शेरबहादुर देउवालाई सबैभन्दा ठूलो पार्टीको नेताको रुपमा तपाइँ प्रधानमन्त्री बन्नुपर्छ भनेर ढुक्क बनाउनुभयो । नेपालकी राष्ट्रिय भाउजु र आफ्नो देशको राष्ट्रिय नेता भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेका बीचमा “राखी“ को सम्बन्ध गाँसिएको त्यसै होइन, यो सम्बन्धलाई मजवूत गराउने तपाइँमार्फत नै हो भनेर विश्वास दिलाउनु भयो । खुमलटार (ललितपुर) पुगेर प्रचण्डलाई तेस्रो पार्टी भएर के भयो त तपाईं भारतको सच्चा मित्र हो तपाइँले प्रधानमन्त्रीको दावी नछोड्नुहोला म सबै मिलाउँछु भनेर ढुक्क बनाउनु भयो ।

बालकोट (भक्तपुर) पुग्नु भयो र केपी ओलीलाई तपाईंजस्तो राष्ट्रवादी देखिन सक्ने व्यक्तिले शेरबहादुर देउवालाई ठूलो पार्टीको नेता भन्दैमा प्रधानमन्त्री छोड्न हुँदैन आवश्यक व्यवस्था म मिलाउँछु मैले भने अनुसार गर्नुहोला भनेर ढुक्क बनाउनु भयो । उहाँ दिल्ली जानु भयो र सबै कुरा मिलाउँदैछु ढुक्क हुनुहोस् भनेर भाजपालाई विश्वस्त बनाउनु भयो । त्यहाँ विकल्पहरुबारे छलफल गराउनु भयो र सबैभन्दा उपयुक्त पात्रलाई प्रधानमन्त्री बनाउन योजना निश्चित गरेर नेपाल आउनुभयो ।

फेरि बुढानिलकण्ठ पुग्नुभयो र जे हुनेवाला छ राम्रै हुनेवाला छ भनेर देउवालाई चुप लागेर बस्न सुझाउनु भयो । खुमलटार पुग्नु भयो र दौरा सुरुवाल ठीक पार्न सल्लाह दिनु भयो । बालकोट पुगेर अरु साना पार्टीलाई समेट्दै गर्न सुझाउनु भयो । यसरी सबैलाई आ–आफ्नो ठाउँमा सजग गराउनु भयो । सबैलाई आशा थियो कि आफ्नै पक्षामा पल्लाभारी हुनेवाला छ । गुह्य चैं प्रचण्डलाई मात्र थाहा थियो । जिन्दगीमा पहिलो पटक प्रचण्डले असनबाट रेडिमेड दौरा सुरुवाल झिकाउनु भयो ।

पृतमले बालकोट पुगेर उहाँको योजना ओलीलाई सुनाउनु भयो । तपाईंको पार्टीले राष्ट्रपति र सभामुख पाउने हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ । त्यसपछि राज्य सत्ता तपाईंको हातमा रहनेछ । सरकार प्रमुख भएर गाली खान पनि परेन । मुख्य मन्त्रालयहरु लिएर सबै कुरामा कब्जा गर्न पनि पाउनु हुन्छ । तपाईंको मुख्य प्रतिस्पर्धी ठूलो पार्टीका नेताको तेजोवध पनि हुन्छ । तपाईंलाई अनुयायीहरुले हाइ हाइ पनि गर्छन् । प्रचण्ड त सानो पार्टीको नेता तपाईंले जे भन्यो त्यही गर्न बाध्य हुनुहुन्छ । अहिलेलाई दोस्रो ठूलो पार्टीको नेताको रुपमा यो नै तपाईंको लागि ठूलो सफलता हुनेछ । ओलीले त्यसलाई स्वीकार गर्दै त्यही अनुसार गर्नु भयो । प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा भयो ।

धेरै दौरा सुरुवाल स्टकमा रहेको भए पनि भर्खरै सिलाएका दौरा सुरुवाल र कोट तयारी अवस्थामा राखेर ठूलो पार्टीको नेताको रुपमा छैटौं पटक प्रधानमन्त्री बन्न तयार रहेका देउवाले प्रधानमन्त्रीमा प्रचण्डको सिफारिस भएको खबर सुन्नासाथ पृतम्म्म्म् !!!!!!!! भन्दै झ्वाँक्किएर भित्र पस्नु भएको मात्र के थियो पृतम टुप्लुक्क पुगेर समाल्दै भन्नुभयो ज्योतिषिले अहिले प्रधानमन्त्री बनिहाल्नु ठीक छैन भनेका छन् त्यसैले परिस्थिति बुझिदिनुहोस् । एक महिनापछि तपाईंका हस्तिहरु सरकारमा पुगेका हुनेछन् । मुख्य मन्त्रालयहरुमा तपाइँका आफ्नै पुग्नेछन् तपाईंको सबै काम तमाम हुने नै छ । पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री हुनु तपाईका लागि फलदायी नै हुनेछ । तपाईंले कसैको गाली पनि खानु पर्ने छैन । अढाइ वर्षपछि त छँदैछ । ओलीलाई चक्मा पनि दिन सकिने, शासनमा आफ्नो हालिमुहाली पनि हुने । तर तपाईं प्रचण्डलाई चिढ्याउने काम चैं नगर्नु होला । यति सुनेपछि देउवा ल ल ठीकै छ त भनेर चुप लाग्नु हुन्छ ।

पृतमको योजना अनुरुप नै प्रधानमन्त्रीले अपार बहुमतका साथ संसदबाट विश्वासको मत पाउनु हुन्छ । पृतमले प्रचण्ड प्रधानमन्त्री हुनासाथ सभामुखमा महाकाली सन्धिमा महत्वपूर्ण योगदान गर्ने एमालेका देवराज घिमिरेलाई बनाउने व्यवस्था मिलाउनु हुन्छ । सभामुखको चयन भएपछि पृतमले अर्को रणनीति अघि सार्नु हुन्छ । जसअनुसार राष्ट्रपतिमा दाइ– भाउजु गुटका रामचन्द्र पौडेललाई चिठ्ठा पर्छ । एमाले पृतमसँग रिसाउँछ । सरकारबाट अलग हुन्छ । पृतमले सन्तुलनको लागि यस्तो गरेको भनी एमालेलाई शान्त पार्दै यसको नतिजा पछिमात्र थाहा हुनेछ भनी आश्वस्त पार्नु हुन्छ ।

पृतमकै योजना अनुरुप नै प्रचण्डको भारत भ्रमण सफल हुन्छ । पशुपतिमा प्रचण्डको प्रवेश पनि हुन्छ । प्रचण्डको छलाङ्ग पुरा हुन्छ । पृतमको स्ट्राटेजी राइट ट्रयाकमा अघि बढिरहेको हुन्छ । पृतमलाई अरु धेरै प्रश्न सोधौंला भन्ने सोच्दै थिएँ, छिमेकमा कुखुरा बास्यो । झल्याँस्स ब्युझें ।

प्रकाशित: २४ असार २०८०, आईतवार ०४:३८

Leave a Reply