No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

किन बन्दैछ नेपाल असफल राष्ट्र ?

0

केशवप्रसाद भट्टराई ।

१. २०५१ मा प्रष्टरूपमा नेपाल असफल राष्ट्र बन्ने पृष्ठभूमि तयार भएको देखियो । २०५२ मा असफल राष्ट्र बनाउन आरम्भ गरियो, २०५४ मा आएर त्यसले गति लियो, २०५७– २०५८मा आएर विकराल स्थितिमा पुग्न थाल्यो । अर्को चार वर्ष मुलुक पूर्णतः राज्यविहीन अवस्थामा थियो । २०६२–६३मा आएर औपचारिक रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा नै असफल राष्ट्रको रुपमा नेपालको पहिचान कायम भयो । सानो टुँडिखेलमा पुगेर श्यामशरणले त्यसको घोषणा गरिदिए र अनमिनले त्यसलाई प्रमाणित गरिदियो । त्यस पछिका अवधिमा कुनै अवधिमा अवस्थामा सुधार भए कुनै परिस्थितिमा झन् अन्यौल र अराजकता बेहोर्दै असफल राष्ट्रको रुपमा नेपाल निरन्तर ओरालो लागेको लाग्यै छ ।

२. दी इकोनोमिस्टले सन् २००४मा नै उक्त कुरा उल्लेख गरेको थियो
हालैको इकोनोमिस्टमा अर्को सन्दर्भमा उल्लेख गर्दा नेपालको त्यो स्थितिको सङ्केत मात्रै गरेको हो । अर्का चर्चित र प्रतिष्ठित अर्थशास्त्री पल कोलियरले बटम बिलियन र वार गन्स एण्ड भोट्स नामक पुस्तकमा पनि नेपालको अवस्थालाई उल्लेख गरेका थिए । पोलिस मूलका एक विख्यात अमेरिकी राजनीतिशास्त्रीले लामो अध्ययन र अनुसन्धानको आधारमा निकालेको निष्कर्ष अनुसार तीन हजार डलर भन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकमा शान्ति र प्रजातान्त्रिक स्थीरता सधैँ संकटग्रस्त रहन्छ र ६ हजार डलर भन्दा माथि प्रति व्यक्ति आय भएको मुलुकको प्रजातन्त्र स्थीर, सुरक्षित र गतिशील हुन्छ । ((Democracy as an equilibriumDOI: 10.1007/s11127-005-7163-4 C Springer, 2005)

३. मुलुकको अर्थतन्त्रलाई प्रतिव्यक्ति ६ हजार भन्दा माथि आय दिने हैसियतमा नपुर्याउञ्जेल मुलुकको प्रजातन्त्र एउटा आडम्बरमा सीमित हुन्छ । दलहरू अस्थीरताको कारक र राज्य असफलताको प्रेरक शक्ति बन्दछन् ।
त्यो स्थिति आउन नदिन पहिलो कार्य अर्थात् सवैभन्दा मूख्य कुरो, मुलुकका राजनीतिक , सामाजिक, वौद्धिक नेतृत्वमाथि, राज्य संरचनाहरू माथि आम जनताको विश्वासको अत्यन्त न्यून वा शून्य स्तरलाई उठाउनु हो ।

४. दशौँ वर्षदेखि सरकार, सुरक्षा संयन्त्र, संसद, अदालत र अन्य संवैधानिक निकायहरू संविधान र कानुन अनुसार आफूलाई ठेकिएको जिम्मेवारी बहन गर्न असफल मात्र छैनन्–तिनीहरूमा आफ्नो त्यो जिम्मेवारी बोधसम्म भएको देखिन्न । राजनीतिक दलहरु र तिनका भात्री सँस्थाहरू आफैँले बनाएको विधान अनुसार बैठक बस्न सक्दैनन् , अधिवेशन गरेर नेतृत्व चयन गर्न सक्दैनन् । कुनै पनि तहका सरकार आफ्ना आधिकांश निर्णय र प्रतिवद्धताहरू कार्यान्वयन गर्न सक्दैनन् । कानुन र संविधान कार्यान्वयन हुन्न । दण्ड र पुरस्कारमा न्याय र निष्पक्षता हुन्छ भन्नेमा कतै कसैमा विश्वास देखिन्न ।

. स्वयम् देशका प्रधानमन्त्री सार्वजनिक रुपमा घमण्डका साथ कुनै भारतीय आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली धाएको बताउँछन् र उनका अगाडिका जमात उनको त्यो भनाईमा पर्रर ताली पड्काउँछन् । सबैजसो प्रमुख राजनीतिक दल हत्या र हिंसाको पृष्ठभूमिबाट आएका छन्– राजनीतिक शक्ति प्राप्त गर्न हजारौँ निर्दोष जनता मारिएका–लुटिएका छन् । निहत्था प्रहरी र दुई–अढाई वर्षको अबोध बालकको हत्याको अपराधमा अदालतको फैसला अनुसार जेल सजाय पाएको व्यक्तिलाई आफ्नो चुनावमा सहयोग गर्न नेहोरा गर्न राष्ट्रपतिका उम्मेदवार जेल पुग्छन् र आफू राष्ट्रपति निर्वाचित भए पछि निजलाई माफी दिएको घोषणा गर्दछन् । यस्तो पनि राज्य हुन्छ ? यस्तो मुलुकको भविष्य ?

६. नेपाल असफल राष्ट्र हो राष्ट्र र राज्यका सवै आधार मक्किसकेका छन् तर आफ्ना रणनीतिक स्वार्थले भारत, अमेरिका र चीनले टेको लगाएर ढल्न दिएका छैनन् । नेपाल असफल भएपछि त्यसबाट उत्पन्न हुने भयानक अराजकताबाट उत्पन्न हुनसक्ने आतंक र असुरक्षाको स्थिति नेपालको सीमा छिचोलेर उनीहरूको सीमा भित्र प्रवेश नगरोस भन्ने आधारमा मात्र उनीहरूले त्यस्तो टेको लगाउने गरेका हुन् । नेपाल ढल्दा शक्ति राष्ट्रहरूलाई हुने लाभ–हानीको हिसाब किताव गरेर त्यस्तो टेको लागेको बुझ्न सकिन्छ । नत्र राज्यको साधारण खर्च धान्न पनि विदेशी अनुदान र ऋणको भर पर्ने र रेमिट्यान्सले धानेको देश राज्यको बर्गमा पर्दैन ।

७. कुनै नयाँ नेतृत्व आएर, सरकार, संसद, अदालत र राज्य र नागरिक संरचनाहरूमाथि जनताको विश्वास जगाएर, कानुनको शासनलाई कठोरतापूर्वक स्थापना गरेर आउने पाँच सात वर्ष भित्र देशको प्रतिव्यक्ति आय ६ हजार डलर माथि पुर्याउन सकिएन भने शक्ति राष्ट्रहरूले सल्लाहमै टेको हटाइदिने र हामीलाई उनीहरूले आफ्नो आपसी रणनीतिक लेनदेनको विषय बनाइदिने हुन् कि ?

प्रकाशित: २५ असार २०८०, सोमबार ०४:३९

Leave a Reply