No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

0

 

काठमाडौं । नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ  ।

विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि बजार विस्तार हुने क्रम बढेको हो । सुरुवाती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र उपत्यकाबाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । प्रिन्ट तयार गर्न खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन ।

अहिले भने समय बदलिएको छ । नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँबाट पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ ।

नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भुषण दाहालले निर्देशन गरेको ‘कागबेनी’ बाट भएको हो । डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक निर्माताको भनाइ छ ।

डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश गर्यो । डिजिटल प्रविधिको सुरुवातसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हट्यो । यसले एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहज बनायो ।

पछिल्लो समय नेपालमै डिजिटल सिनेमा इनिसेटिभ (डिसिआई) ढाँचामा चलचित्र इन्कोडिङ गरेर विश्वभर प्रदर्शन गर्न सकिन्छ । यही कारण पनि नेपालसँगै विश्वभर एकै मितिमा चलचित्र प्रदर्शन हुने गरेको छ ।

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार भइरहेको छ ।

मौलिक कथा र कलात्मक प्रस्तुति रहेको नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार विस्तार भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् ।

मध्यपूर्वको निप फिल्म्स, अष्ट्रेलियाको जानवी इन्टरटेनमेन्ट र अमेरिकाको नेपाल एलेभन इन्टरटेनमेन्ट मिलेर स्थापना गरिएको सेभेन सिज कम्पनीले नेपालसँगै विश्वभर एकसाथ चलचित्र प्रदर्शन गर्ने प्रदर्शक विनोद पौडेलले जानकारी दिए । उनी  भन्छन्, “हामीले विभिन्न देशमा छरिएर चलचित्रको प्रदर्शन अधिकार खरिद गर्ने गरेका थियौँ । अब एउटै भएर जाँदा निर्माण पक्षसँगै हामीलाई पनि सहज हुन्छ ।”

नियमितरूपमा नेपाल झैँ अमेरिकामा पनि चलचित्र भवनमै चलचित्र प्रदर्शन हुँदा दर्शकलाई लाभ हुने स्थानीय प्रदर्शक प्रतीक सुवेदी बताउँछन् । “बुक गरेर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयमले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन”, उनी  भन्छन् ।

आफ्नो समूहले चलचित्र निर्माणमा समेत सघाउने प्रदर्शक रमेश ढकालको भनाइ छ । मध्यपूर्वका सहरमा चलचित्र प्रदर्शन गरिरहेका उनी चलचित्रको नयाँ बजार खोज्न आफ्नो समूह प्रयासरत रहेको बताउँछन् । प्रदर्शक ढकाल भन्छन्, “इराकमा समेत नेपाली चलचित्र प्रदर्शन सुरु भएको छ । अन्य देशमा समेत हामीले बजार बनाउन खोजिरहेका छौँ । यसले व्यावसायिकरूपमा हामीलाई लाभ दिएको देखिएता पनि नेपाली चलचित्रलाई पनि टेवा पुगेको छ ।”

एकै कम्पनीले चलचित्रको प्रदर्शन अधिकार खरिद गर्दा निर्माण पक्षलाई सहज हुने निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने बताउँछन् । “यसरी एकै पटक सम्झौता गरेर चलचित्रको प्रदर्शन अधिकार बिक्री गर्दा निर्माण पक्षले धेरै झन्झटबाट मुक्ति पाउँछन् । साथै नयाँ बजार खोज्ने र चलचित्र भवनमै प्रदर्शन गरेर बजार विस्तारमा टेवा पुर्याउनेलाई हामीले पनि प्रोत्साहित गर्नु जरुरी छ”, उनी भन्छन् ।

ऋभिनेता लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ नेपालबाहेक प्रदर्शन अधिकार खरिद गरेको सेभेन सिजले एक हजार पाँच सयभन्दा बढी प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित: २६ असार २०८०, मंगलवार ०८:४१

Leave a Reply