No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्यानडामा सिख नेताको हत्या आरोपमा तीन भारतीय पक्राउ

0

बीबीसी । भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा क्यानडाले तीन भारतीय नागरिकहरूलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

गतवर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै मुखौटाधारी बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको थियो। तर दिल्लीले क्यानडाले लगाएका आरोप अस्वीकार गरेको थियो ।

प्रहरी उपरीक्षक मनदीप मुकरले शुक्रवार दिएको जानकारी अनुसार पक्राउ पर्नेहरू २२ वर्षीय करण बरार, २२ वर्षकै कमल प्रीत सिंह र २८ वर्षीका करण प्रीत सिंह छन् ।

तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए। उनीहरू बसेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको उनले बताए । अदालतको अभिलेख अनुसार तीनै जनालाई नियोजित हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीनै जना विगत तीनदेखि पाँच वर्षयता क्यानडामा बस्दै आएका थिए ।

प्रहरीले उनीहरूको ‘भारत सरकारसँगको सम्बन्ध’ सहित थप विषयमा अनुसन्धान भइरहेको बताएको छ । ‘पक्राउ परेका व्यक्तिहरूमा मात्रै अनुसन्धान सीमित छैन। यसबारे छुट्टै र पृथक् अनुसन्धानहरू भइरहेका छन्,’ सहायक आयुक्त डेभिड टेबोलले भने । अनुसन्धानमा संलग्न व्यक्तिहरूले भारतीय अधिकारीहरूसँग पनि सहकार्य गरिरहेको तर वर्षौँदेखि यस्तो सहकार्य ‘धेरै कठिन र चुनौतीपूर्ण’ रहेको उनीहरूले बताएका छन्।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार १६:४८

Leave a Reply