No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

२०४६ अघि र पछि नियतिको बन्धन, कथा र व्यथा

0

केशवप्रसाद भट्टराई ।
यही त्रिभुवन विश्वविद्यालय कुनै समयमा भारतीय विश्व विद्यालय भन्दा दशौं बर्ष अगाडि छ भनेर भारतीय विश्व विद्यालयका प्राध्यापकहरू बताउँथे । महाराजगंजको मेडिकल कलेज, पुल्चोकको इञ्जिनियरिङ्ग कलेज, कीर्तिपुरको त्रिवि अन्तर्गतको नेपाल तथा एसियाली अनुषन्धान केन्द्र (सिनास) त्रिवि कै आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) दक्षिण एसियाकै उत्कृष्टमा गनिन्थे । महेन्द्र प्रकृति संरक्षण कोष विश्वकै प्रतिष्ठित सँस्था थियो । नेपाली काङ्ग्रेस विश्वमै सम्मानित राजनीतिक दलको हैसियतमा थियो । वीपी कोइराला अन्तर्राष्ट्रिय ख्यातिका नेता थिए । नेपालको टेलिफोन सेवा र विद्युत वितरण सेवा भारतको भन्दा श्रेष्ट थियो । हेटौडा कपडा उद्योग र बिराटनगरको अशोक टेक्सटाल्सबाट उत्पादित कपडाहरू भारतीय उपभोक्ता माझ औधि लोकप्रिय थिए र भारतीय व्यापारीहरू ती कपडाहरू लुकाई लुकाई भारत तिर लैजान्थे । नेपालमा उत्पादित जुटका सामग्रीहरु भारत र बंगलादेशमा हारालुछ हुन्थे । नेपालका भारतसँग सीमा जोरिएका सबै जसो अंचलमा सरकारीस्तरमा धान –चामल निर्यात कम्पनीहरू थिए । हामी धान –चामल निर्यातक राष्ट्र थियौं । यस्ता धेरै कुरा छन् ।

हो आमजनतालाई. सोझै छुने विकास खासै भएको थिएन । जनता शक्ति र आत्मविश्वासहीन थिए । जनताको उर्जा, शक्ति, सपना र विश्वास्लाई राष्ट्रको शक्ति, सपना र विश्वासमा रुपान्तरण गर्न सकिएको थिएन । २०४६ पछि आएर बाटो घाटो , कुलो–नहर, खानेपानी, स्कूल, कलेज, अस्पतालहरू , विद्युत, संचारका क्षेत्रमा अकल्पनीय प्रगति भएका छन् । असाधारण उपलव्धि हासिल भएका छन् । मिडिया क्षेत्रले अकल्पनीय प्रगति गरेको छ । असाधारण शक्ति र प्रभाव आर्जन गरेको छ । टोलै पिच्छे , नेताका नामै पिच्छे विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान छन् । २०४६ अघिको समय सँग तिनको तुलना नै हुँदैन । तर ती प्रगति वारेसविहीन छन् । लक्ष र प्राथमिकता बिनाका छन् । ती जनताका आवश्यकताका क्षेत्रका भन्दा सत्ताधारी र निहित स्वार्थ समूहका आर्थिक हित र स्वार्थ सँग जोडिएर आए र त्यस्तो विकास र प्रगतिबाट अकूत कमाउने यौटा नयाँ बर्ग निर्माण भयो ।

स्कूल, कलेज र विश्वविद्यालयहरूमा अध्ययन–अध्यापन र अनुषन्धान बाहेक सबै हुन्छ । न्यायालयमा न्याय बाहेक सवै हुन्छ । सेनाले सैन्य कर्म बाहेक नगर्ने केही छैन ।शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, मिडिया, सबैले एउटा नयाँ अभिजात्य बर्ग निर्माण गर्यो । विभिन्न पेशा, बर्ग र व्यवशायमा पेशागत वा ट्रेड युनियनको नाउमा पनि शासक बर्ग । विद्यार्थी, किसानमा पनि शासक बर्ग । सार्वजनिक यातायातमा पनि शासक बर्ग । अपराधी समूह पनि शासक बर्गकै रूपमा जनता समक्ष आए । आम जनतामाथि सबैको शासन । झन्डै जनता भन्दा शासक बढी । भ्रष्टाचार र विकासवीचको फरक छुट्याउन नै नसकिने भयो । विकासको लक्ष जनता हुन् कि शासक बर्गको ठूलो कमाई धमाईको लक्ष हो बुझ्नै नसकिने भयो । विकासले जनताको आशा, विश्वास र आस्था बोक्न नै सकेन । अवसर जति नेताका नातागोता र आसेपासेलाई । मुलुक र पार्टीका लागि प्राप्त अवशर जति छोरी, बुहारी, छोरा,भतिजा,साला, सालीलाई वा ती अवशर खरिद गर्न सक्ने स्वार्थ समूहका व्यक्तिहरूलाई ।

उही व्यक्ति आयल निगमको महाप्रवन्धक, अनि खाद्य संस्थानको महाप्रवन्धक पनि उही, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष पनि उही र मध्य पश्चिमान्चल विश्व विद्यालयको उपकुलपति पनि उही व्यक्ति । अर्का योजना आयोगको उपाध्यक्ष थिए । आयोगको उपाध्यक्ष हुँदा हुँदै राष्ट्र बैंकको गभर्नर भए, अनि मनोनित सांसद र मन्त्री ! भूकम्प पछिको पुनर्निर्माण प्राधिकरणमा काङ्ग्रेसले पनि र एमालेले पनि घुमाइ घुमाई एउटै व्यक्ति । एनजीओमा उनै, बार अध्यक्षमा उनै , महान्याधिवक्ता उनै , न्यायाधीश र प्रधानन्यायाधीश उनै । तीन पटक, चार पटक पाँच पटक उनै प्रधानमन्त्री –घुमी घुमी । पढिसकेर आउन पाएको हुन्न राजदुत ! दलहरूका विद्यार्थी संगठन जस्तै बनाइएका तर ज्ञान विज्ञान कला र साहित्यको उन्नयन, संवर्धनको लागि खुलेका प्रज्ञा प्रतिष्ठानहरुको कुरै नगरौँ । न ज्ञान न अनुभव , अनि मुलुकको हित अन्तर्राष्ट्रिय समुदायमा कसरी प्रस्तुत हुने ?

त्यत्रा ठूला पार्टी छन् । मुलुकका लागि त्यत्रा योगदान गरेका सक्षम र निष्ठावान व्यक्तिहरू हजारौंको सङ्ख्यामा छन् । तर कसैको छोरी भएकै कारण मेयर, बुहारी भएकै कारण मन्त्री बन्ने ? कसैको सम्धी र सासु हुँदैमा अवसर सुरक्षित हुने ? न्यायापालिका देखि विश्व विद्यालय र संवैधानिक निकायहरू भागबण्डामा ? उच्च प्रहरी र प्रशासनिक निकायमा लेनदेनको आधारमा नियुक्ति ? अनि जनताले यिनलाई ऐतिहासिक,महान, गौरवशाली र क्रान्तिकारी भनिदिनु पर्ने ! यी सबैका विरूद्ध पार्टीका आम कार्यकर्ताको दायित्व निर्माण हुन्न ? आम कार्यकर्तामा यस्तो कायरता ? वौद्धिक समुदाय र संगठित सार्वजनिक सेवाका व्यक्तिहरू मुलुक र जनताप्रति उत्तरदायी हुनुपर्दैन ?
यी सबैका विरूद्ध पार्टीका आम कार्यकर्ताको दायित्व निर्माण हुन्न ? ती जिन्दगी भरी नेताका महत्वाकांक्षाका मल खाद भएर रहनु पर्ने ? आम कार्यकर्ता यस्ता कायर भए पछि पार्टी सप्रिन्छ ? देश उठ्छ ?

वौद्धिक समुदाय र संगठित सार्वजनिक सेवाका व्यक्तिहरू मुलुक र जनताप्रति उत्तरदायी हुनु पर्दैन ? कार्यकर्ता दास, वौद्धिक समुदाय दास , राज्य संयन्त्र भित्रका सबै दास , कसैमा न स्वाभिमान न राष्ट्रिय चेतना अनि आम जनतालाई कसले जगाउने ?अनि देशको भविष्य ? इतिहास प्रेरणा मात्रै हो – शक्ति र सामर्थ्य होइन । इतिहास घोकेर देश जोगाउन सकिन्न । देश बचाउने र प्रगति पथमा लैजाने भनेको वर्तमानको सामर्थ्यले मात्रै हो र दुखका साथ भन्नु पर्दछ वर्तमान नेपालको राजनीति र समाजले मुलुकलाई त्यो सामर्थ्य दिएन, दिन सक्दैन । नयाँ सम्भावना बोकेर कोही आउनु नै पर्दछ । नेपाली जनता माझबाट नै कोही निस्किनु पर्दछ ।

प्रकाशित: २९ असार २०८०, शुक्रबार ०६:२९

Leave a Reply