No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली महिला क्रिकेट टोलीको  प्रशिक्षकमा देवीका पाल्शिकर नियुक्त

0

काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको  तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ  ।

 

भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्यान्ट प्रशिक्षकको रुपमा आइतबार नियुक्त गरिएको क्यानले जनाएको छ । देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी  थिइन् ।

देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन् । उनी २०१८ मा बङ्गलादेशको सहायक प्रशिक्षक बनेकी थिइन् ।  मलेसियामा यही अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म आयोजना हुने आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

जसमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक मलेसियासँगै बहराइन, भुटान संयुक्त अरब इमिरेट्स (युएई) र कतार रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

छनोट हुने नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीसहित सीता रानामगर, ईन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का रहेका छन् ।

त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैसी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डङ्गोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुबि पोडार रहेका छन् ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार ०८:०९

Leave a Reply