No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

२० मेगावाटको लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण पूरा

0

 

काठमाडौँ । रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले तीन दशमलव आठ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो ।

गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको विद्युत्गृहसम्म सुरुङ निर्माण गरिएको निर्माण कम्पनी आरएम समूहका सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजना निर्माण दुई वर्षअघि कोभिड महामारीका बेला सुरु भएको थियो ।

आयोजनाको सुरुङ विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको काम भइरहेको तथा सामान आएलगत्तै जडान सुरु हुने अर्यालले बताए । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ ।

आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राटेकले गरिरहेको छ । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम समूहको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजनाको लागत  दुई अर्ब ७३ करोड छ । जसमा सनराइज बैंकले एक अर्ब ५० करोड, सिद्धार्थ बैंकले रु ५४ करोड, कुमारी बैंकले ३० करोड र बाँकी आरएम समूहले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । एक वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको  सो समूहका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित: २९ श्रावण २०८०, सोमबार १३:१२

Leave a Reply