No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कमरेड केपी ! आफ्नोमात्र फोटो राखेर तुलसीलाल, साहनाको चित्र कसरी आउट गर्न सक्नुहुन्छ ?

0

सुवोधराज प्याकुरेल ।

कमरेड केपी,
हरेक विषय माथिबाट निर्देश गर्नुपर्ने हुँदैन । असल संस्कारको सुरुवात आफू संलग्न हुने कार्यक्रममा वरिष्ठहरुले गरिदिए बाँकीले खुशी अनुसरण गर्छन् ।

तपाईं आफैंले महाराजहरुको स्वस्तिवाचन प्रथालाई गर्नुभएको व्यङ्ग्य र जात अनुसार पहिरन गर्नुपर्ने टोपीको शैलीको विरोध कसरी गर्नु भएको थियोे भन्नेकुरा साक्षी छ । हरेक कार्यक्रममा सहभागीलाई बताउनु पर्ने कि तपाईं सम्माननीय पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । व्यक्ति पिच्छेले स्मरण गराइदिनु पर्ने कि तपाईं श्रद्धेय अध्यक्ष, राजनेता बा अनि अरु के के हो हुनुहुन्छ ? पार्टीको कार्यक्रममा कमरेड भन्दा माथिका दर्जा र व्यवहारमा कमरेडीपन भन्दा माथि अनेक फुँदा जोडिँदा कसरी दङ्ग पर्न सकिन्छ ? अचेल सहभागिताको प्रमाणपत्रदेखि पार्टी कार्यालयले ढोका कोठा सर्वत्र तपाईंको चित्र नराखी नहुने गरि उधुम मच्चाइएको छ । प्रदेश सम्मेलनको मुखैमा प्रदेश प्रमुख तपाईसँग कुम जोडेको फोटो हाल्छन् र लेख्छन्, श्रद्धेय अध्यक्षबाट निर्देशन लिएँ । दुनियाँले अर्थ लगाउँछ, नेतृत्व छनौटमा आदेश मिल्यो, तदनुसार नेता छानिने छन् ।

एमाले विचार र व्यवहारले पाको पार्टी हो । वैचारिक काम कमजोर भएपछि व्यक्ति, व्यक्तिको वैयक्तिक श्रृङ्गार सुरु हुन्छ । पार्टीको लोकतान्त्रिकरणको लागि तपाईंको कर्म मिहेनत र त्यसमा गाँसिए बापत प्रताडित गरिएकाहरुलाई सम्झिनुस् र निर्णय गर्नुस् । अतिभक्ति चौरस्य लक्षणम् । तपाईंको तेजोवध गर्ने हरिया झिङाहरु धेरै भए । तिनले जान्ने कुरा ग्लेमर हो ।
किसानले गर्ने सार्वजनिक कार्यक्रममा क. तुलसीलाल, महिलाले गर्ने कार्यक्रममा क. साहना र स्थानीय कार्यक्रममा सान्दर्भिक शहीदको चित्र कसरी आउट गर्नु हुन्छ ? विवेकपूर्ण काम व्यवहारबाट स्थापित गर्दै लैजानुपर्छ र समय, विषय सान्दर्भिक हुन्छ । चुनावमा गरिने सार्वजनिक कार्यक्रममा तपाईंको चित्र नभए पनि हुन्छ तर उम्मेदवारको चित्र अनिवार्य हुन्छ ।

अन्त्यमा, हरेक कार्यक्रममा राष्ट्रगान र मौन धारण अनिवार्य हुँदैन । त्यो तपाईंलाई बढी थाहा छ । सिनेमा हलमा राष्ट्रगान, रोदीघरमा राष्ट्रगान घन्काउन लगाउने पञ्चायतकालीन भाटगिरी तपाईंलाई थाहा छ । कृपया आलोचना र विरोध बीचको फरक, नेता र नेतृत्व बीचको फरक अनि पार्टी र पदाधिकारी बीचको फरकका बारेमा तपाईंका निकट, अति निकट, विशिष्ट निकटका महानुभावहरुलाई दीक्षित गरिदिनुस् । एमाले एमालेका दर्जावालहरुको मात्र होइन सिङ्गो नेपाल नेपाली र कतिपय सन्दर्भमा विश्वका न्याय समानता र समन्यायका पक्षपातीहरुको पनि पार्टी हो ।

प्रकाशित: १ भाद्र २०८०, शुक्रबार ०४:१६

Leave a Reply