No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बागमतीका विनाविभागीय मन्त्री चित्रकारलाई तीन महिनापछि उद्योग मन्त्रालयको जिम्मेवारी

0

मकवानपुर । बागमती प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड, २०८० लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकार प्रवक्ता गङ्गानारायण श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

चित्रकारले गत जेष्ठ ७ गते मन्त्री पदको शपथ खाएका थिए। मन्त्रालय भन्दा मन्त्रीको संख्या बढी हुँदा मन्त्रालयको संख्या थप गर्नुपर्ने कारण कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहेका चित्रकार लामो समयसम्म विभागविहीन थिए । बैठकले विभाग तोकेसँगै उनले मंगलबारै पदभार ग्रहण समेत गरिसकेका छन् ।

बैठकले बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि केन्द्र सरकारलाई सिफारिस गर्ने समेत निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले विज्ञान प्रविधि नवप्रवर्द्धन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठले बागमती प्रदेशसभाको बैठक भदौ १७ गतेका लागि आह्वान गर्न प्रदेशसभालाई आग्रह गर्ने निर्णयसमेत गरेको बताए ।

त्यसैगरी, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।

बैठकले ज्यान जोखिममा परेका सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि स्वीकृत गरेको उनले बताए ।

प्रकाशित: ५ भाद्र २०८०, मंगलवार १४:३५

Leave a Reply