No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उच्चस्तरीय समिति गठनको मस्यौदालाई शीर्ष नेता बसेर आज टुंग्याउने तयारी

0

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको गतिरोध हटाउने सन्दर्भमा सहमति जुटाउनका लागि सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक आज बस्ने भएको छ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसद्को काम कारबाही सुचारु गर्नका लागि प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्ने गरी निर्णायक संवाद गर्न शीर्ष नेताहरू छलफलमा जुट्ने भएका हुन् ।

उनले प्रतिनिधिसभाका राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच सोमबार सम्पन्न बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माग अनुसार नै जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गर्ने सन्दर्भमा शीर्ष नेताहरूबिच छलफल हुने जानकारी दिए ।

नेता लेखकसँगै एमाले उपाध्यक्ष एवं संसदीय दल उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित समितिले छानबिन आयोगको कार्यविधि तयार गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सोमबार राति बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकले समिति गठन गरेको हो । उनले भने,’दलहरूबीचको सहमति अनुसार आयोगको कार्यविधि तयार गर्न गठित समितिले सहमतिको मस्यौदा करिब करिब टुङ्ग्याएको छ। अब शीर्ष नेताहरूबीच छलफल भएपछि नेतृत्व कसले गर्ने, काम कसरी अघि बढाउने भन्ने सन्दर्भमा अन्तिम निर्णय हुने छ।’

उनका अनुसार आयोगको कार्यविधिमा नेपालमा र नेपालको बाटो प्रयोग गरेर हुँदै आएको सुन तस्करी पूर्ण रूपमा नियन्त्रण गर्नका लागि कानुन र संरचनागत कमजोरी हटाउने विषय समावेश गरिएको छ। उनले साउन ३ गते विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुनका सन्दर्भमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान जारी रहने बताए ।

उनले भने, ‘केन्द्रीय अनुसन्धान ब्युरोले तस्करीका रूपमा अवैध पैठारी भएको सुनको सन्दर्भमा अनुसन्धान जारी राख्ने, छानबिनलाई निरन्तरता दिने, सिआइबीले निष्पक्ष र स्वतन्त्र छानबिन गरेर अभियोजनसमेत गरेर निष्कर्षमा पुर्याउने छ। आयोगको काम नीतिगत सुधारका पक्षमा हुने छ।’

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शीर्ष नेताको बैठक बस्ने र उच्चस्तरीय छानबिन आयोगको कार्यविधिलाई अन्तिम रूप दिने बताए ।

प्रकाशित: ६ भाद्र २०८०, बुधबार ००:५८

Leave a Reply