No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतीय अन्तरिक्षयान चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण

0

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ । यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो ।

गत सप्ताहान्तमा उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो । चन्द्रयान–३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतकारूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन् ।

अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ । चन्द्रयान–३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ ।

यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए ।

अवतरण भएको केही समयपछि विक्रम ल्यान्डरबाट छ वटा पाङ्ग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहमा रहेका चट्टान र खाडलहरूतिर अघि बढ्दै पृथ्वीमा महत्वपूर्ण तस्बिर तथा डेटाहरू पठाउनेछ । रोभरको पाङ्ग्रामा इसरोको लोगो र प्रतीक चिह्न पनि छन्।

पाङ्ग्राहरू गुड्दा तिनले चन्द्रमाको माटोमा इसरोको छाप बसाउने एक अधिकारीले बीबीसीलाई बताए । अवतरणको दिन सावधानीपूर्वक तय गरिएको थियो। यो दिन चन्द्रमाले आफ्नो कक्षमा परिक्रमा गर्दा लगाउने समय ‘लूनर डे’ को आरम्भसँग मिल्छ । चन्द्रमाको एक दिन पृथ्वीमा १४ दिन हुन्छ । ल्यान्डर र रोभरका ब्याट्रीहरूलाई चार्ज हुन र काम गर्न सूर्यको प्रकाशको आवश्यकता पर्छ ।

रात परेपछि तिनले काम गर्न छाड्छन् । चन्द्रमामा अर्को दिन हुँदा त्यसले फेरि काम गर्छ वा गर्दैन स्पष्ट छैन । भारतको यस तेस्रो चन्द्र अभियानको सफलताको प्रार्थना गर्दै त्यहाँ बुधवार दिउसैदेखि मन्दिर, मस्जिद र गिर्जाघरहरूमा प्रार्थना कार्यक्रमहरू आयोजना गरिएका थिए । यसअघि सन् २०१९ मा समेत भारतले चन्द्रयान–२ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो ।

तर यान दुर्घटनाग्रस्त भएपछि उक्त अभियान विफल भएको थियो । सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिशन चन्द्रयान–१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो । त्यसले दिउँसोको समयमा चन्द्रमामा वायुमण्डल पनि हुने जनाएको थियो ।

एउटा अर्बिटर, ल्यान्डर र रोभर रहेको चन्द्रयान–३ लाई दक्षिण भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट गत जुलाई १४ मा प्रक्षेपण गरिएको थियो । ल्यान्डरको नाम ’विक्रम’ इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) का संस्थापक विक्रम साराभाईप्रति सम्मान व्यक्त गर्न राखिएको हो। ल्यान्डरमा २६ किलोग्रामको ‘प्रज्ञान’ नामक रोभर छ ।

प्रकाशित: ६ भाद्र २०८०, बुधबार १३:०३

Leave a Reply