No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

0

 

मकवानपुर । हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताएका छन् ।

प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसियु र आइसियुबाहेक शय्या निःशुल्करूपमा उपलब्ध गराउनु भनी आएको निर्देशनअनुसार आफूहरुले सेवा दिन थालेको प्रसाईंले बताउनुभयो । यसअघि अस्पतालमा प्रतिबेड प्रतिदिन  दुई सय रुपैयाँ शुल्क लाग्दै आएको थियो ।

यो निर्णयसँगै १३ जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ शय्याबाट निःशुल्क सेवा पाउन थालेका हुन् । यस्तै प्रदेश मातहतका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनःस्थापना र फिजियोथेरापी सेवा पनि निःशुल्करूपमा उपलब्ध गराउन सुरु गरिएको छ ।

प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ अनिवार्यरूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ । स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालका शय्या निःशुल्क गर्ने निर्णय गरेको र कार्यान्वयन गरिएको जानकारी दिए ।

उनले सरकारले निःशुल्क गरेको सेवा लिनलाई नागरिकलाई आग्रहसमेत गरेका छन् । स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्गता भएका, विपन्न बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न निर्देशनसमेत दिएको छ ।

 

 

प्रकाशित: ७ भाद्र २०८०, बिहीबार ०७:४५

Leave a Reply