No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डेढ वर्षपछि राप्रपा नेपाल किन फर्कियो राजसंस्था पुनःस्थापनाको पक्षमा ?

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल करिब डेढ वर्षपछि पुनः राजसंस्था पुनःस्थापनाको पक्षमा फर्किएको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मूलभूत विचार हुने उल्लेख गरेका छन् ।

यसअघि राजतन्त्र पुनर्स्थापनाको मुद्दा नै गलत भएको भन्दै थापा एमालेसँग मिलेर चुनावी अभियानमा लागेका थिए । एमालेकै चुनाव चिह्नसमेत लिएका थिए । तर, अहिले उनी पुनः राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका छन् ।

थापाले जारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको बताएका छन् । प्रतिवेदनमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र राप्रपा नेपालको मूल विचार हुने उल्लेख गरेका छन् ।

अध्यक्ष थापाले पेश गरेको कार्यपत्रमा भनिएको छ, ’पार्टी कार्यकर्ता, शभेच्छुक, सहयोगी र शुभचिन्तकहरूको भनावनालाई सम्मान गर्दै राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेण्डा नबनाउने विगतको अडानलाई पुनरवलोकन र पुनर्विचार गर्ने निर्णय गरिएको छ । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रसमेत राप्रपा नेपालको मुलभूत विचार हुनेछ । राजसंस्थाको पुनःस्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेण्डामध्ये एक हुनेछ ।’

थापाको उक्त कार्यपत्र आजको केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ । राप्रपाभित्र अहिले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध गठजोड बढेको छ । नेताहरू पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीको सहयोगमा दोस्रो तहका नेताहरू लिङ्देनको विकल्पमा लागेका छन् । राप्रपमा लिङ्देनको विकल्प खोज्न थालिएपछि थापा पुरानै एजेन्डामा फर्किएका बताइन्छ ।

प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार ०९:४०

Leave a Reply