No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भक्तपुरको बाल सुधार गृहका ५७ जना उपत्यकाबाहिर स्थानान्तरण

0

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा सहमति भएको छ ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् ।

यही भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो भने ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी दुई सय २१ जना फरार भएका थिए ।

पटक पटकको छलफलसँगै आइतबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुङ्गिएको हो ।

सहमति गरेर शवपरीक्षण गरी सदगद गर्ने सहमति भएको भक्तपुरका प्रजिअ रिजालले जानकारी दिए । छानबिन कमिटीबाट आएको रिपोर्टअनुसार अगाडि बढ्ने, मृतक परिवारका लागि राहत रकमका लागि नेपाल सरकारलाई लेखी पठाउने सहमति भएको छ । मृतक परिवारले भने १० लाख क्षतिपूर्ति एवं राहत रकमको माग गर्दै आएका थिए ।

युसेप नेपालले मृतकको काजकिरिया गर्नका लागि आफ्ना कर्मचारीको केही दिनको तलब काटेर सहयोगस्वरुप दुई लाख सहयोग रकम उपलब्ध गराएको छ ।

सहमति भएसँगै मृतक बस्नेतको आज शिक्षण अस्पताल महाराजगञ्जमा शवपरीक्षण गर्ने र दाहसंस्कार हुने भएको छ । त्यसैगरी बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्सा, १८ जनालाई मकवानपुर, सात जनालाई डोटी र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको विभागले जानकारी दिएको छ ।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार ०२:५२

Leave a Reply