No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लुम्बिनीमा कुनै नेताको नाममा गुट छैनः सचिव अर्याल

0

लुम्बिनी । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन् ।

नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको भन्दै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताइन् । पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा सोमबार बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरिन् । उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताइन् ।

उनले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि बताइन् । “सर्वसम्मत भनेको सहमति र समझदारी हो”, उनले भनिन्, “सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन ।”

एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ । अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ । अधिवेशनमा महिला ३३ प्रतिशत पुर्याउने प्रयासमा रहेको बताउँदै उनले उत्पिडित, महिला, युवाको फरक–फरक कलस्टर बनाएर प्रतिनिधि छनोट भएको जानकारी दिए ।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार ०९:११

Leave a Reply