No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तातोपानी नाका आठ वर्षपछि सर्वसाधारणका लागि खुला

0

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट आठ वर्षपछि मानव आवतजावत सुरु भएको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरेका हुन् । सांसद माधव सापकोटा आफैंले मितेरी पुल तरेर चीन प्रस्थान गरेका थिए ।

सांसद सापकोटा सहितको टोलिलाई चिनियाँहरुले स्वागत गरेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीहरुसहित नाका पुगेका सांसद सापकोटाले अब नाका पूर्ण सञ्चालनको बाटोमा गएको प्रतिक्रिया दिएका छन् । २०७२ साल वैशाख १२ गतेको महाभुकम्पपछि नेपाल चीनबीचको यो नाका पूर्ण रुपमा बन्द रहेको थियो ।

नेपाल र चीन दुबैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाई पन्छाएर सीमित संचालनमा आएको नाका २०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द रहेको थियो ।

चीनबाट सीमित सामान आयातका लागि खुल्ला रहेको नाकाबाट २०८० बैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । यात्रु आवात जावत खुलेसँगै नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार ०४:५५

Leave a Reply