No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमाले भित्र विवाद होस् भन्ने चाहना राख्नेहरुका चाहना पानीका फोका हुन्ः उपाध्यक्ष पौडेल

0

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र उपाध्यक्ष र महासचिवका बीच गुट रहेको भन्दै बन्ने रंगिन समाचारबाट कोही कसैलाई तरंंगित नहुन आग्रह गरेका छन् ।

शनिबार पार्टीको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटनमा उपाध्यक्ष पौडेलले पार्टी भित्र आफ्नो भविष्य नदेख्ने र दासत्वमा रमाउनेहरुले गुटबन्दी गर्दै हिँड्ने भन्दै आफूले कुनै गुटबन्दीमा विश्वास नगर्ने बताए ।

उनले भने,‘विष्णु पौडेल ४५ वर्षको पार्टी जीवनमा कहिल्यै गुटबन्दी नगरी यहाँसम्म आएको हो, गुटबन्दी कायरहरुको काम हो, पार्टीभित्र आफ्नो भविष्य नदेख्नेहरुले गुटबन्दी गर्छन् विष्णु पौडेलले गुटबन्दीमा विश्वास गर्दैन, गुटबन्दी मुर्दावाद ।’

उनले पार्टी र गुट कहिल्यै सँगै नरहने भन्दै पार्टी बनाउन चाहनेहरुले कहिल्यै गुट नबनाउने र गुट बनाउनेहरुले कहिल्यै पार्टीलाई बलियो नबनाउने भन्दै पार्टी या गुट के बनाउने हो पार्टीका सचेत कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए।

उपाध्यक्ष पौडेलले एमाले भित्र नेतृत्व, नीति र बिधिको प्रश्नमा कुनै मतभेद नभएको स्पष्ट पारे। आफू र महासचिव शंकर पोखरेलका बीचमा लडाउने र एमाले भित्र विवाद होस् भन्ने चाहना राख्नेहरुका चाहना पानीका फोका जस्तै बन्ने बताए । उपाध्यक्ष पौडेलले बाहिर बसेर एमालेमा बिग्रहको अपेक्षा गर्दै भविश्यबाणी गर्नेहरुलाई नेता कार्यकर्ताहरुले लुम्बिनी अधिवेशनको माध्यमबाट जवाफ दिनुपर्ने बेला आएको बताए ।

उनले भने, ‘एमालेमा बिग्रहको अपेक्षा गर्दै एमालेको उन्नति र प्रगतिमा आफ्नो पतन देख्नेहरुको सपना कहिल्यै पूरा हुने छैनन् ।’ पौडेलले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अवसरवादीहरुले अन्तरघात गर्दै विरोधीलाई सघाएकोप्रति भने आक्रोश पोखेका थिए।

प्रकाशित: १६ भाद्र २०८०, शनिबार १२:४९

Leave a Reply