No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जेलेन्स्कीद्वारा रक्षामन्त्री बर्खास्त

0

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई हटाएका छन् । डेढ वर्ष अगाडि सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण आक्रमण थालेको समयभन्दा पहिलेदेखि नै रेज्नीकोभले युक्रेनको रक्षामन्त्री पद सम्हालिरहेका थिए ।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनका बेला राष्ट्रपति जेलन्स्कीले रक्षा मन्त्रालयमा अब ‘नयाँ शैली’ अपनाउनुपर्ने समय आएको बताए । उनले भने,’मन्त्रालयले नयाँ शैली अपनाउनुपर्ने तथा सेना एवं समग्र समाजसँग अन्य माध्यमका अन्तरक्रिया गर्नु पर्ने आवश्यकता रहेको मेरो विश्वास छ ।’

रेज्नीकोभको विस्थापनलाई कतिपयले अनुमान गरिसकेका थिए । त्यसलाई जेलेन्स्कीले सबै सरकारी विभागहरूमा भ्रष्टाचार नियन्त्रण गर्न खोजेका प्रयाससँग जोडेर हेरिएको छ ।

हुन त रेज्नीकोभलाई प्रत्यक्ष कुनै गल्तीको अभियोग लागेको छैन । तर उनको मन्त्रालयले खरिदसम्बन्धी विभिन्न काण्डहरू झेलिरहेको छ । युक्रेनी सञ्चारमाध्यमहरूमा रेज्नीकोभलाई अब लन्डनमा कियभका नयाँ राजदूत बनाइन लागेको बताइएको छ । लन्डनका वरिष्ठ राजनीतिज्ञहरूसँग उनको राम्रो सम्बन्ध विकास भएको बताइन्छ ।

युक्रेनमा युद्ध सुरु भएयता ५७ वर्षीय रेज्नीकोभ निकै परिचित हुन थाले । युक्रेनका पश्चिमा सहयोगी देशहरूसँग उनी नियमित बैठक गर्थे अनि युक्रेनका लागि थप सैन्य उपकरणको निम्ति पैरवी गरिरहन्थे ।

रेज्नीकोभको ठाउँमा जेलेन्स्कीले हाल युक्रेनमा निजीकरण कार्यक्रम चलाइरहेका रुस्तेम उमरोभलाई नयाँ रक्षामन्त्रीमा मनोनयन गरेका छन् । तर उक्त मनोनयनलाई युक्रेनी संसद्ले अनुमोदन गर्न बाँकी छ । उमरोभले रुसी आक्रमणको प्रारम्भिककालमा भएका शान्ति वार्ताहरूमा युक्रेनको प्रतिनिधित्व गरेका थिए ।

प्रकाशित: १८ भाद्र २०८०, सोमबार ०४:३६

Leave a Reply