No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास नहोस्ः गगन थापा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो भनेर सरकारलाई प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे सरकारसँग जवाफ माग गरेका हुन् ।

उनले दिनदहाडै काठमाडौंमै कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार हुनु सामान्य घटना नभएको बताए । उनले भने, ‘कांग्रेस सहमहामन्त्री यादव भाग्यले बाँच्नुभएको छ । सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।’

उनले प्रधानमन्त्री र गृहमन्त्री पनि बोलेको सुन्दा कोही पनि सुरक्षित छैन भन्ने सन्देश दिएको बताए । उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्री बोलेको सुन्छु । काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित छैन भने गृहमन्त्री र प्रधानमन्त्रीलाई छोएको छ कि छैन ? महेन्द्र यादवले कसैलाई मन नपर्ने कुरा बोले । कसैलाई मन नपराउने बोले भन्दैमा खुकुरी हानिहाल्ने ? वैध वा जायज ठहराए नेपाली समाजले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

बुधबार दिउँसो कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोटर्स क्लबबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार ०८:१६

Leave a Reply