No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनु छ भने कांग्रेस प्रतिपक्षमा बस्न तयार हुनुपर्छ

0

जेपी गुप्ता ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकारहरूका माझ ११ वटा बुँदाहरू उठाउनु भएको छ । यसमध्येका दुई वटा कुराका बारेमा म सोच्दछु । शेखर कोइराला प्रधानमन्त्री प्रचण्डकाबारेमा केही आधारभूत कुराहरूको आलोचना गर्नुहुन्छ । मुलुकमा सुशासनको अभाव, जातियताको भावनालाई प्रधानमन्त्रीबाट बढावा दिइनु, यस सरकारबाट प्रजातान्त्रिक मूल्य एवं मान्यताहरूको अनदेखा हुनु र कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्दछ–मैले संक्षेपमा चर्चा गर्न चाहेका दुईवटा बिषय भित्र यिनै कुराहरू रहेका छन् ।

अर्को आमचुनावबाट संसदमा कांग्रेसको बहुमत आउनु, यो टाढाको बिषय हो । चुनाव टाढा रहेकोले यसको प्रतिक्षा गर्नुपर्छ । अब यदि यही संसदको यस कार्यकाल भित्र प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनु छ भने नेपाली कांग्रेस एकमत भै प्रतिपक्षमा बस्न तयार हुनुपर्दछ । कांग्रेस यदि प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउने उद्यम गर्छ भने एमालेको समर्थनबाट फेरि उहाँ प्रधानमन्त्री बन्ने निश्चित हुन्छ । त्यसबेला केपी ओलीजी को नजरमा प्रचण्ड ‘सुधारिएको’ प्रचण्ड हुनेछन् । कुनै परहेज रहने छैन । के कांग्रेसभित्र यस्तो मानसिकता छ र ? अनि शेखरजी, मिनेन्द्र रिजालजी जस्ता प्रबुद्ध नेताहरू अहिलेको कांग्रेसलाई यस्तो मानसिकता बनाउने दिशामा डोर्याउन सक्ने अवस्था छ र ?

अर्को बिषय, प्रचण्डको नेतृत्वमा सरकार बन्नुको पछाडि नेपालको आन्तरिक राजनीतिमा गहिरो विदेशी चाख रहनु अर्को उल्लेख्य सन्दर्भ हो । यो हो हालका लागि भारत र अमेरिकाको संयुक्त चाख । नेपालमा चीनको प्रभावलाई कमजोर पार्नका लागि एमाले–माओवादी नेतृत्वको सरकार बन्नु किंचित पनि यस पक्षको प्राथमिकता होइन ।

यिनको स्वार्थको सम्बर्धनका लागि प्रचण्डलाई कांग्रेसले समर्थन गरि रहनुपर्छ। यस चाखको दबावमा प्रधानमन्त्रीका लागि सर्वकालिक ललायित व्यक्तित्व शेरबहादुर देउवाले पनि आफ्नो निजी इच्छालाई तिलाञ्जली दिनु भएको हो । के यस पक्षलाई ‘सामान्य’ बनाउनेमा अथवा कांग्रेसलाई यस लिकबाट निकाल्नमा अहिले शेखरजीहरूको कुनै भूमिका हुन सक्छ र ? यसबाट कांग्रेस कसरी निस्कन्छ ? यही कांग्रेस फसेको छ । देउवा पनि र देउवाको बिरोध गर्ने शेखरजीहरू पनि फस्नु भएको छ। कि कसो ?

प्रकाशित: २३ भाद्र २०८०, शनिबार ०८:३९

Leave a Reply