काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपतिले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गरेकी छन् ।
विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको सन्देशमा उल्लेख गरेकी छन् ।
वर्तमान सन्दर्भमा प्रारम्भिक बाल विकास तहदेखि, विद्यालय हुँदै विश्वविद्यालयसम्म नै शिक्षाको सामयिक सुधारका सवालहरू साझा राष्ट्रिय चासोका विषय हुन पुगेका बताउँदै उनले शैक्षिक संस्थाहरूको सुधार, प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासमा राष्ट्र, अभिभावक र शैक्षिक संस्थाहरूले गर्नुपर्ने समवेत प्रयासतर्फ हामीले आफूलाई निर्देशित गर्नुपरेको उल्लेख गरेकी छन् ।