केशवप्रसाद भट्टराई ।
बंगलादेश स्वतन्त्र हुँदा त्यहाँको प्रतिव्यक्ति आय ९४ डलर थियो, सन् २०२१मा त्यो २,५०३ डलर पुग्यो । नेपाल जत्रै भूमि झन्डै १७ करोड जनसंख्या पालेर बसेको छ । नेपालको त्यतिखेर ८१ डलर आसपास थियो, बंगलादेशको हाम्रो भन्दा १३ डलर मात्र बढी । २०२१मा आउँदा नेपालको १,२२२ मात्रै छ । हाम्रो तुलनामा बंगलादेशको दोब्बर भन्दा पनि बढी । हाम्रो जनसंख्या तीन करोड भन्दा कम । प्राकृतिक साधन र स्रोतमा बंगलादेश भन्दा नेपाल निकै समृद्ध ।
भारतको प्रतिव्यक्ति आय २,२७७ डलर । भुटानको ३,००० डलर । तर नेताहरुको गफ, भाषण र अन्तर्वार्ता सुन्नोस त । अनि हामी दक्षिण एसियाको सवैभन्दा पुरानो स्वतन्त्र र सार्वभौम राष्ट्र । क्रान्ति, आन्दोलन र महान परिवर्तन ल्याउनमा संसारमै अब्बल । अरुलाई एउटै क्रान्तिले ,आन्दोलनले पुग्छ , हामीलाई हरेक नेतालाई सत्तामा ल्याउनु परे क्रान्ति चाहिन्छ । तीन तीन वटा क्रान्तिको नेतृत्व गर्ने पार्टी –नेता भनेर गफ चुट्छौँ । त्यो पुरुषार्थ हो कि अक्षमता र नालायकी हो ?
एउटै संविधानले तीन –चार सय वर्ष देखि देश चलाउने पनि छन् र साठी र सत्तरी साल पुराना त कति हुन् कति । यो संसारकै पुरानो भनिने देशको संविधान १० वर्षको पनि भएको छैन । त्यस्तो पुरानो देशको १०० वर्ष अघि शासन संचालनको कुनै विधान छैन । देशको प्रधान मन्त्री भैसकेको व्यक्ति हिरो देखिने लहडमा सामान्य ऐतिहासिक प्रमाणको पनि ज्ञान नभएर पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई कीर्ते भन्ने दुराशय व्यक्त गर्दछन् । प्रज्ञा प्रतिष्ठान कायरतापूर्ण मौनता प्रदर्शन गरेर बसेको छ । अन्य नेताहरू त्यसरी नै मौन बसेका छन् !सावित जस्तै भएको छ ,यो जनताको राष्ट्र होइन, नेताहरूको विर्ता हो । आफ्नो नालायकी र निर्लज्जता लुकाउन छिमेकी र मित्र राष्ट्रलाई सराप्न मात्रै जानेका छन्–यिनले । यिनले राष्ट्रको र भविष्यका पुस्त समेतको भविष्य चपाइसकेका छन् । आउने चुनावमा युवाहरूले यो निर्लज्ज, नालायक र कायर पुस्तालाई बढारेर फाल्न सकेमा मात्र यो देशले सुख र चैनको सास फेर्न पाउला ।


