+

एकता र सद्भाव कायम गर्न विदेशबाटै देउवाको अपिल, हिंसा रोक्न सरकारसँग माग

१४ श्रावण २०८३, बिहीबार २१:५८

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हालै तराईका विभिन्न क्षेत्रमा देखिएका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशमा एकता, सद्भाव र सहकार्य कायम गर्न अपिल गरेका छन्। हाल विदेशमा रहेका उनले सामाजिक सञ्जालमार्फत एकअर्काको सहअस्तित्व स्वीकार्नुपर्नेमा जोड दिएका छन्।

नेपाली समाजको प्रमुख विशेषता आपसी सद्भाव, एकता र सहकार्य भएको उल्लेख गर्दै देउवाले सबैलाई शान्तिको आदर्शलाई अनुसरण गर्न आग्रह गरेका छन्।

‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो। म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भने।

हालैका घटनाहरूमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पूर्वसभापति देउवाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

देशमा हिंसा थप फैलिन नदिन र शान्ति सुरक्षा सुदृढ गर्न सरकारलाई गम्भीर बन्नुपर्ने उनको भनाइ छ। उनले सबै राजनीतिक दलहरूसँग सहकार्य गरी तत्काल आवश्यक पहल र प्रभावकारी कदम चाग्न सरकारसँग जोडदार माग गरेका छन्।